रौतहट नेपाल विद्युत प्राधिकरण गौर वितरण केन्द्रले बक्यौता महसुल असुलीका लागि अभियानलाई तीव्र बनाएको छ । लामो समयदेखि महसुल नतिर्ने व्यक्तिगत ग्राहक, निजी व्यावसायिक प्रतिष्ठान तथा सरकारी कार्यालयलाई लक्षित गर्दै प्राधिकरणले कडा कदम चालेको हो ।
गौर वितरण केन्द्रका प्रमुख धिरेन्द्र यादवका अनुसार पटक–पटक ताकेता गर्दा पनि बेवास्ता भएपछि एकैदिन राजदेवी, ईशनाथ, गरुडा र माधवनारायण नगरपालिकामा विद्युत लाइन काटिएको थियो । लाइन काटिएपछि राजदेवी, गरुडा र ईशनाथ नगरपालिकाले आंशिक बक्यौता बुझाएपछि मात्रै पुनः विद्युत सेवा सुचारु गरिएको उनले बताए ।
प्राधिकरणका अनुसार गौर वितरण केन्द्र अन्तर्गतका गौर, राजदेवी, दुर्गा भगवती, माधवनारायण, गढीमाई, गरुडा, परोहा, राजपुर, ईशनाथ, यमुनामाई र वृन्दावन नगरपालिका (२ वडा) भित्रका विद्यालय, स्वास्थ्य संस्था र वडा कार्यालयहरूले अझै महसुल तिर्न आनाकानी गरिरहेका छन् ।
हाल पहिलो चरणमा सडक बत्तीबाहेकका अन्य बक्यौता उठाउने काम भइरहेको प्रमुख यादवले जानकारी दिए । उनका अनुसार साउन १ गतेदेखि चैत १६ गतेसम्म नौ करोड ५५ लाख ८३ हजार ३१६ रुपैयाँ बक्यौता रहेका दुई हजार ४५ ग्राहकको लाइन काटिएको छ ।
तीमध्ये एक हजार ७७२ ग्राहकले पाँच करोड ५० लाख १५ हजार ३७७ रुपैयाँ बुझाएपछि पुनः लाइन जडान गरिएको छ । यस्तै, कालोसूचीमा रहेका ६० जनाबाट २४ लाख ४९ हजार ६३५ रुपैयाँ असुल गरिएको छ भने विद्युत चुहावटमा संलग्न १२० जनामाथि कारबाही गर्दै १५ लाख ७६ हजार १२४ रुपैयाँ जरिवाना उठाइएको प्राधिकरणले जनाएको छ ।
कुनै पनि बहानामा महसुल नबुझाउने कार्य स्वीकार्य नहुने प्राधिकरणले स्पष्ट पारेको छ। सरकारी निकाय वा प्रभावशाली व्यक्ति जोसुकै भए पनि बक्यौता नतिरेसम्म लाइन काट्ने अभियान निरन्तर जारी रहने गौर वितरण केन्द्रले जनाएको छ ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया