२०८२ फाल्गुन ६ | Feb 18, 2026

स्वास्थ्य बीमा भुक्तानी सरकारले नगरे महानगर आफैले गर्ने प्रतिबद्धता

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २३
|
714 views

ललितपुर – ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालन हुँदै आएको स्वास्थ्य सेवा कार्यक्रमलाई निरन्तरता दिन महानगरपालिका आफैं आर्थिक जिम्मेवारी लिन तयार रहेको बताएका छन् । नेपाल सरकारले स्वास्थ्य बीमाको भुक्तानी नगरे पनि सेवा बन्द हुन नदिने उनको स्पष्ट प्रतिबद्धता छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मेयर महर्जनले अस्पताल सञ्चालनमा आर्थिक समस्या देखिएको उल्लेख गर्दै भुक्तानी अभावका कारण सेवा अवरुद्ध हुन नदिने बताए । सेवा बन्द गर्नुपर्ने अवस्था आए महानगरपालिकाले प्रत्यक्ष रूपमा रकम व्यवस्थापन गर्ने उनले बताए ।

उनका अनुसार पाटन अस्पतालको सल्लाहअनुसार नयाँ स्वास्थ्य केन्द्र स्थापना गर्ने तयारी भइरहेको छ र उक्त केन्द्र निकट भविष्यमै सञ्चालनमा आउनेछ । केन्द्र सञ्चालनमा आएपछि नगरवासीले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममार्फत गुणस्तरीय र सहज स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरिएको छ ।

मेयर महर्जनले पाटन अस्पतालसँगको सहकार्यलाई ७५३ स्थानीय तहका लागि उदाहरणीय अभ्यासका रूपमा अघि बढाइने समेत बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया