ललितपुर – जिल्ला प्रहरी कार्यालय चितवनले रत्ननगर नगरपालिका ४ की ६३ वर्षीया सुकमाया देवी तामाङको हत्या प्रकरणमा संलग्न पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । तामाङको गत पुस २६ गते आफ्नै घरमा हातखुट्टा र मुख कपडाले बाँधेर हत्या गरिएको थियो ।
प्रहरीका अनुसार हत्या घटनामा संलग्न भएको आरोपमा पाँच जनालाई विभिन्न स्थानबाट पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले पक्राउ पर्ने व्यक्तिहरूको विवरण सार्वजनिक गरेका छन् ।
पक्राउ पर्नेमा बारा जिल्लाको जीतपुर सिमारा उपमहानगरपालिका–२२ घर भई हाल रत्ननगर नगरपालिका–१० बस्ने ४६ वर्षीय मोटे र विजय भनिने शुक्रबहादुर भोलन, सोही ठाउँका स्थायी बासिन्दा भई हाल ललितपुर महानगरपालिका–१० च्यासल बस्ने ४२ वर्षीय सूर्यमान वाइबा, धादिङ थाक्रे गाउँपालिका–५ का ३२ वर्षीय बुद्धिमान लामा रहेका छन्। त्यसैगरी स्याङ्जा बिरुवा गाउँपालिका–८ पेल्का घर भई हाल रत्ननगर नगरपालिका–४ बस्ने ३१ वर्षीय कौबहादुर गुरुङ र मकवानपुर थाहा नगरपालिका–१२ घर भई हाल काठमाडौँको थानकोट बस्ने ४७ वर्षीय हिराबहादुर स्याङ्तान पनि पक्राउ परेका छन् ।
प्रहरीका अनुसार उनीहरूलाई रत्ननगर नगरपालिका, नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०, इच्छाकामना गाउँपालिकाको फिस्लिङ तथा काठमाडौँको थानकोट क्षेत्रबाट पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीले मृतक तामाङको घरमा केही समयअघि भाडामा बस्दै आएका भोलनको योजनामा हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए ।
पक्राउ परेकाहरूको साथबाट ना २५ प ६९६५ नम्बरको पल्सर मोटरसाइकल, बागमती प्रदेश ०१–००२ ज ७९८५ नम्बरको ट्याक्सी, मृतकको मोबाइल, पर्स तथा सात थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुमानअनुसार तामाङको घरबाट दुई तोला ५० लालको सुनको सिक्रीसहित काँडावाला माडवरी, एक तोला २५ लालको सुनको बाला, ५० लालको सुनको औँठी, एक तोलाको सुनको जन्तर, मोती माला, दुई थान मोबाइल तथा नगद रु एक लाखसहित कुल रु १५ लाख ३६ हजार ७०० बराबरको धनमाल लुटपाट गरिएको छ ।
पक्राउ परेका सबैविरुद्ध कर्तव्य ज्यान तथा चोरी–डाँकासम्बन्धी कसुरमा मुद्दा दायर गरिएको प्रहरी उपरीक्षक पुरीले जानकारी दिनुभयो। इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायब उपरीक्षक सुभाष भट्टको नेतृत्वमा गठित अनुसन्धान टोलीले करिब दुई साताको अनुसन्धानपछि घटनामा संलग्न व्यक्तिहरू पहिचान गरी पक्राउ गरेको हो ।
















फेसबुकबाट तपाईको प्रतिक्रिया