पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालसँग सम्बन्धित जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितका प्रतिवादीविरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित गरिएको छ ।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको संयुक्त इजलासमा तय भएको सुनुवाइ प्रतिवादी पक्षका कानुन व्यवसायीको निवेदनपछि अर्को दिनका लागि सारिएको हो ।
यसअघि एक प्रतिवादी न्यायाधीश सुदर्शनदेव भट्टका नातेदार भएको कारण मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको थियो ।
यो प्रकरणमा माधवकुमार नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो दाबी गर्दै जरिवाना र सजाय माग गरेको छ ।
अनुसन्धान अनुसार, तत्कालीन मन्त्रिपरिषद्ले २०६६ फागुन ६ गतेको बैठकबाट हदबन्दीभन्दा बढी जग्गा कारोबारका लागि स्वीकृति दिएको र त्यसपछि सोही आधारमा जग्गा बिक्री तथा सट्टापट्टा भएको देखिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया