ललितपुर – यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा निर्वाचन कर्मचारीलाई तालिम दिन थालिएको छ । जिल्लाका ८२ मतदानस्थलअन्तर्गत १२० स्थायी र दुई अस्थायी गरी १२२ मतदान केन्द्रमा खटिने मतदान अधिकृत तथा सहायक मतदान अधिकृतलाई प्रशिक्षण सुरु गरिएको हो ।
जिल्ला निर्वाचन कार्यालय म्याग्दी र मुख्य निर्वाचन अधिकृतको कार्यालयले बेनीमा तालिम सञ्चालन गरेको हो । मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाका अनुसार निर्वाचन शान्त, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गराउन कर्मचारीलाई विशेष प्रशिक्षण दिइएको छ । उहाँले मतदातालाई स्वतन्त्र रूपमा मतदान गर्ने वातावरण सुनिश्चित गर्न कर्मचारी निष्पक्ष हुनुपर्ने बताउनुभयो ।
जिल्लामा जिल्ला कारागार र कर्मचारीका लागि अस्थायी मतदान केन्द्रसहित १२२ मतदान केन्द्र निर्धारण गरिएको छ । निजामती कर्मचारी, स्वास्थ्यकर्मी र शिक्षकलाई मतदान अधिकृत तथा सहायक मतदान अधिकृतमा खटाइएको छ । जिल्लामा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा स्वतन्त्रसहित १२ उम्मेदवार चुनावी मैदानमा छन् भने ८६ हजार ३९७ मतदाता कायम रहेका छन् ।
निर्वाचन सामग्री व्यवस्थापनको काम सम्पन्न भएको छ । निर्वाचन आयोगबाट पठाइएका सामग्रीहरूलाई मतदान केन्द्रअनुसार छुट्याएर तयारी अवस्थामा राखिएको जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले जानकारी दिनुभयो । मतदाताको सङ्ख्याका आधारमा आवश्यक सामग्री व्यवस्थापन गरी पठाउने तयारी पूरा भएको उहाँले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया