ललितपुर - ललितपुर – सामाजिक अभियान्ताको पहिचान बनाएका महावीर पुनले जिल्लाबाट प्रतिनिधिसभाको यात्रा तय गर्नुभएको छ । हाल चितवनमा बस्दै आउनुभएका ७१ वर्षीय पुनको जन्म विसं २०११ माघ ११ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीमा भएको हो । अन्तरिम सरकारको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री नियुक्त हुनुभएका पुनले गत माघ ४ गते पदबाट राजिनामा दिएर जन्मथलोमा चुनाव लड्न आउनुभएको थियो ।
अमेरिकाको ‘नेब्रास्काको युनिभर्सिटि’बाट विसं २०४९ मा स्नाकोत्तर गरेका पुनको म्याग्दीको सूचना प्रविधि, शिक्षा र पर्यटन विकासमा योगदान रहेको अन्नपूर्ण गाउँपालिका–७ मा रहेको टिकोट माविका प्रअ प्रदीप पुनले बताउनुभयो । विसं २०५८–६४ को समयमा पोखरा, काठमाडाँैलगायत सहर बजारमा सहज रुपमा कम्युटर र इन्टरनेट सुविधा नभएको अवस्थामा पुनले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका विद्यालयहरुमा कम्प्युटर शिक्षाको सुरुआत र ताररहित इन्टरनेट सुविधा विस्तार गरेका थिए ।
ग्रामीण क्षेत्रमा सूचना प्रविधिको विकास र विस्तार गरेकोमा सन् २००७ मा एसियाको नोबल पुरस्कारका रुपमा चिनिने ५० हजार डलरको म्यागासेसे पुरस्कार प्राप्त गर्नुभयो । चौरीपालन, माछापालन, तरकारीखेती गरेर ग्रामीण क्षेत्रका विद्यालय सञ्चालनका लागि आयस्रोत जुटाउने अवधारणा विकास गरेका पुनको अगुवाइमा अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग, नागी, मोहरेडाँडा, टिकोट, डाँडाखर्क र खोप्रा लेकमा सामुदायिक लज सञ्चालन भएको छ । चौरी र सामुदायिक लजको आम्दानी विद्यालय सञ्चालनमा परिचालन हुने गरेको छ ।

बिजनेस पाटी