ललितपुर - ललितपुर – राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आसन्न निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सबैसँग आग्रह गर्नुभएको छ ।
स्वच्छ निर्वाचनका लागि नागरिक अभियानद्वारा आयोजित ‘लोकतन्त्रको स्थायित्वका लागि निर्वाचन र सरोकारवालाको भूमिका’ कार्यक्रममा उहाँले सरकार, राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकाय र सञ्चारजगतको महत्त्वपूर्ण भूमिका रहने धारणा राख्नुभयो ।
अध्यक्ष मगरले भन्नुभयो, ‘जनताले निष्पक्ष रूपमा आफ्नो सक्षम र योग्य जनप्रतिनिधि छान्न पाउनुपर्छ । मतदातालाई दिग्भ्रमित हुने कार्य कसैबाट हुनु हुँदैन ।‘
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक डम्बरबहादुर विकले निर्वाचन सुरक्षा व्यवस्थापन र तयारी पूरा भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘आम मतदाताले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउनुहुन्छ । राजनीतिक दल र उम्मेदवारले आवश्यक सहयोग गर्नु पर्नेछ ।‘
सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक गणेश ढाडामगरले देशको विशिष्ट परिस्थितिपछि हुन लागेको निर्वाचनप्रति आमनागरिकमा चासो रहेको बताउनुभयो । उहाँले थप्नुभयो, ‘निर्वाचन आयोग र एकीकृत सुरक्षा योजनाअनुसार दोस्रो घेरामा रहेर सुरक्षा प्रदान गरिनेछ । केन्द्र, प्रदेश र जिल्लामा सुरक्षा सेल खडा गरी सम्भावित चुनौतीहरूको विश्लेषण र सुरक्षा बन्दोबस्ती मिलाइएको छ ।‘
उषा गजमेरले निर्वाचन आचारसहिता लागू भइसकेको, राजनीतिक दल, उम्मेदवार र सरोकारवालाले त्यसको पालना गर्नुपर्ने बताउनुभयो ।
उहाँले कुनै उम्मेदवारलाई लक्षित गरी आरोप प्रत्यारोप गरेमा कानुनी दण्डको भागिदार हुनुपर्ने उल्लेख गर्नुभयो र राजनीतिक दल र उम्मेदवार मुख्य जिम्मेवार हुने जानकारी दिनुभयो ।

बिजनेस पाटी