ललितपुर - ललितपुर – मन्त्रिपरिषद्को यही फागुन १२ गतेको बैठकले सोह्रौँ योजना कार्यान्वयन कार्ययोजना (२०८१–२०८६) स्वीकृत गरेको छ ।
सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश शर्माका अनुसार न्याय सेवा परिषद्को सिफारिसबमोजिम दुई उपसचिवलाई नेपाल न्याय सेवाको राजपत्राङ्कित प्रथम श्रेणीमा पदोन्नति तथा पदस्थापन गर्ने निर्णय भएको छ ।
बैठकले नेपाली सेनाका दुई प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गर्ने र दुई महासेनानीको सरुवा गर्ने निर्णय गरेको छ । साथै यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतका आदेश जाँचबुझ आयोगको कार्यावधि एक महिना थप गरिएको छ ।
निर्वाचनका क्रममा सुरक्षाकर्मी वा निर्वाचन प्रहरी घाइते भएमा उपचार खर्च सरकारले बेहोर्ने र मृत्यु भए आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराइने निर्णय पनि भएको छ ।
बिमा ऐन, २०७९ को दफा १४० बमोजिमको कसुरसम्बन्धी मुद्दा निरुपणका लागि देशका ७७ वटै जिल्ला अदालतलाई तोक्ने निर्णय गरिएको छ ।
चीन सरकारको अनुदान सहयोगमा निर्माण तथा स्तरोन्नति हुने कलङ्कीदेखि बसुन्धरासम्मको काठमाडौं चक्रपथ सुधार आयोजनालाई कर छुट दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता प्रतिनिधिसभा निर्वाचनपछि उपयुक्त समयमा आयोजना गर्ने निर्णयसमेत गरिएको छ ।

बिजनेस पाटी