२०८२ चैत्र २१ | Apr 04, 2026

क्यानडाका प्रधानमन्त्रीको भारत भ्रमण, व्यापार प्रवर्द्धनमा पहल गरिने

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १५
|
714 views

ललितपुर – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी भारत भ्रमणका लागि शुक्रबार मुम्बई आइपुग्नुभएको छ । उहाँले अमेरिकासँग आफ्नो देशको बिग्रँदो सम्बन्धबाट भएको क्षतिको भरपाई गर्ने र भारतसँगको सम्बन्ध पुनः मजबुत बनाउने र दोहोरो व्यापार प्रवर्द्धनका लागि सम्झौता गर्ने आशा गर्नुभएको छ ।

ओटावाले नयाँदिल्लीलाई क्यानडामा सिख कार्यकताविरुद्ध घातक अभियान चलाएको आरोप लगाएपछि सन् २०२३ मा टुटेको सम्बन्धमा कार्नीको भ्रमण एक महत्वपूर्ण कदम हुने अपेक्षा गरिएको छ ।

भ्रमणको अन्तिम दिन सोमबार उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्नुहुनेछ भने त्यसअघि उहाँले व्यापारिक नेताहरूलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ ।

भारतीय प्रसारकहरूले कार्नी भारतीय भूमिमा अवतरण गरिरहँदा उहाँको सुरक्षार्थ मुम्बईमा प्रहरीको गाडीको ठूलो लस्कर देखाएका थिए ।

भारतको विदेश मन्त्रालयले कार्नीको भ्रमण ‘भारत–क्यानडा सम्बन्धलाई अझ बलियो बनाउनका लागि महत्वपूर्ण कदम’ भएको बताएको छ।

‘भारत–क्यानडा साझेदारी साझा लोकतान्त्रिक मूल्यमान्यता, जनता–जनताबीचको बलियो सम्बन्ध र विभिन्न क्षेत्रमा सहयोग विस्तार गर्नेमा आधारित रहेको छ,’ मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले एक्समा एक पोस्टमा लेख्नुभएको छ।

‘व्यापार, ऊर्जा, प्रविधि र कृत्रिम बौद्धिकता (एआई), प्रतिभा र संस्कृति, तथा रक्षाको क्षेत्रमा महत्वाकांक्षी नयाँ साझेदारीमा केन्द्रित हुने कार्नीको कार्यालयले बताएको छ ।

गत वर्ष दुई देशबीच प्रस्तावित स्वतन्त्र व्यापार सम्झौताका लागि वार्ता पुनः सुरु गर्ने सहमति भएको थियो ।

कार्नीले सन् २०३० सम्ममा भारतसँग दुईतर्फी व्यापारलाई दोब्बर बनाउने लक्ष्य लिएको बताउनुभएको छ।

गत वर्ष कार्नीले सत्ता सम्हाल्नुअघि ओटावाले सन् २०२३ मा क्यानेडियन नागरिक हरदीप सिंह निज्जरको हत्यामा मोदी सरकारको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाएको थियो, जो खालिस्तान नामक स्वतन्त्र सिख राज्यको वकालत गर्ने सानो समूहको एक हिस्सा रहेको बताउने गरिएको थियो ।

खालिस्तान लडाकूमाथि भारतीय प्रधानमन्त्रीको हत्या र यात्रुवाहक विमानमा बम विस्फोट भएको आरोप लगाइएको छ ।

पूर्व प्रधानमन्त्री जस्टिन ट्रुडोको सरकारले क्यानडामा रहेका सिख कार्यकर्ताविरुद्ध भारतले धम्की दिने अभियान चलाएको आरोप लगाएको छ ।

भारतले आरोपलाई बारम्बार खण्डन गर्दै आएको छ, जसले कूटनीतिक सम्बन्धमा दरार पैदा ग¥यो र दुवै देशले २०२४ मा शीर्ष कूटनीतिज्ञहरूको समूहलाई निष्कासन गरेका थिए ।

मार्च २०२५ मा कार्नीले पदभार ग्रहण गरेपछि सम्बन्ध सुधार भएको छ र त्यसपछि दूतहरू पुनस्र्थापित भएका छन्।

विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको प्रमुख अर्थतन्त्र भारतले विदेशी लगानी आकर्षित गर्न चाहेको छ र क्यानडेली ‘पेन्सन र वेल्थ फन्ड’ले ७३ अर्ब डलर लगानी गरिसकेको बताएको छ।

१.४ अर्ब जनसंख्या भएको विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश भारतले विदेशी लगानीलाई ऊर्जा बजारको विकासमा भित्राउन चाहन्छ भने क्यानडाले आणविक ऊर्जा क्षमता विस्तार गर्ने आफ्नो महत्वाकाङ्क्षी योजनालाई समर्थन गर्ने आशा गर्दछ।

संयुक्त राज्य अमेरिकामा अत्यधिक निर्भरताबाट टाढा राख्ने व्यापक प्रयासको पहलका लागि कार्नी भारत पछि अष्ट्रेलिया र जापानको यात्रा गर्नुहुनेछ ।

सन् २०२४ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा फर्कनु अघि र विश्वव्यापी करवृद्धिको लहरको माध्यमबाट विश्व व्यापारलाई सुधार गर्नुअघि, क्यानडाको निर्यातको ७५ प्रतिशतभन्दा बढी संयुक्त राज्य अमेरिकामा गएको थियो। त्यस वर्ष दुईतर्फी व्यापार ९०० अर्ब नाघेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया