ललितपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ५३ जिल्लाका ११७ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार हालसम्म एक करोड ५० लाखभन्दा बढी मतपत्र छापिसकिएको छ ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार डोल्पा, मुगु, जुम्ला, कालीकोट, हुम्ला, जाजरकोट, दैलेख, रुकुम पश्चिम, सल्यान, सुर्खेत, बाजुरा, अछाम, बझाङ, डोटी, डडेल्धुरा, दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, पाँचथर, इलाम, तेह्रथुम, भोजपुर, ओखलढुङ्गा, सुनसरी, ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, नवलपरासी पश्चिम, मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुम पूर्व, दाङ, बाँके, नवलपरासी पूर्व, पाल्पा, अर्घाखाँची, प्यूठान, रुपन्देही र रोल्पा गरी ५३ जिल्लाको मतपत्र छपाइ सकिएको हो ।
मङ्गलबारसम्म ४७ जिल्लाको मतपत्र छपाइ सम्पन्न भएकोमा आज थप छ जिल्लाको मतपत्र छापिएको आयोगले जनाएको छ । छापिएका मतपत्रको प्याकिङसमेत भइसकेको छ । हालसम्म १३ हजार ३२१ बाकस मतपत्र प्याकिङ गरिएको छ भने दैनिक करिब एक हजार बाकस प्याकिङ र १३ देखि १५ लाख मतपत्र छपाइ भइरहेको छ ।
प्रतिनिधिसभा निर्वाचनका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, सानोठिमीमा गत पुस २२ गतेदेखि मतपत्र छपाइ सुरु गरिएको हो । पहिलो चरणमा १० लाख ९८ हजार २०० नमूना मतपत्र छापी विभिन्न जिल्लामा पठाइसकिएको आयोगले जनाएको छ ।
यसैगरी, समानुपातिक निर्वाचन प्रणालीतर्फ माघ १३ गतेसम्म दुई करोड आठ लाख ३० हजार मतपत्र छापेर प्याकिङ तथा ढुवानी तयारी अवस्थामा राखिएको छ । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ भने दुई करोड तीन लाख २३ हजार मतपत्र छाप्नुपर्ने लक्ष्य रहेको आयोगले जनाएको छ । माघ १६ गते बिहानदेखि सो प्रणालीअन्तर्गत मतपत्र छपाइ जारी रहेको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया