युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन

BusinessPati बिजनेस पाटी
|
२०८३ आश्विन ३
|
204 views

ललितपुर - रुसले युक्रेनबाट गैरकानुनी रूपमा गाभेको दाबी गरिएका क्षेत्रका बासिन्दालाई पहिलो पटक आफ्नो संसदीय निर्वाचनमा सहभागी गराएको छ । क्रेमलिनले आफ्नो नियन्त्रणलाई सुदृढ गर्ने प्रयासका रूपमा अघि बढाएको यस कदमको युक्रेनले कडा विरोध गरेको छ । मानव अधिकारकर्मीहरूले भने त्यहाँका बासिन्दालाई मतदानका लागि दबाब दिइएको बताएका छन् ।

रुसभर शुक्रबारदेखि सुरु भएको मतदान आइतबारसम्म चल्नेछ । तर, युक्रेनका रुसी नियन्त्रणमा रहेका क्षेत्र तथा रुसको सीमावर्ती केही क्षेत्रमा भने सुरक्षा कारण देखाउँदै गत महिनाको अन्त्यदेखि नै मतदान सुरु गरिएको थियो ।

रुसी अधिकारीहरूका अनुसार डोनेत्स्क, लुहान्स्क, खेरसन र जापोरिजिया क्षेत्रमा ३५ लाखभन्दा बढी मतदाता छन् । रुसले सन् २०२२ को सेप्टेम्बरमा यी क्षेत्रलाई आफूमा गाभेको घोषणा गरेको थियो । त्यतिबेला ती सबै भूभागमा उसको पूर्ण नियन्त्रण थिएन । रुसको उक्त कदमलाई अन्तरराष्ट्रिय समुदायले मान्यता दिएको छैन ।

रुसी नियन्त्रणमा रहेको डोनेत्स्क क्षेत्रको एक मतदान केन्द्रमा सशस्त्र रुसी सैनिकको उपस्थितिमा मतदाताले मतदान गरेका थिए ।

राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबारको सम्बोधनमा ती क्षेत्रका बासिन्दाले ‘रुससँग पुनर्मिलन’ पछि पहिलो पटक स्टेट डुमाका लागि मतदान गरिरहेको बताउँदै निर्वाचनको महत्वमा जोड दिनुभयो । युद्धमा सङ्लग्न रुसी सैनिकहरूले पनि मतदान गर्ने उहाँले उल्लेख गर्नुभयो ।

       पात्रो/राशिफल  रेडियो YouTube