२०८२ फाल्गुन ६ | Feb 18, 2026

फागुन २१ का लागि मतपत्र छपाइ अन्तिम चरणमा

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १
|
357 views

ललितपुर – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र छपाइ अन्तिम चरणमा पुगेको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ गरिरहेको छ ।

केन्द्रका प्रबन्ध निर्देशक यदुनाथ पौडेलका अनुसार दैनिक १२–१५ लाख मतपत्र छपाइ भइरहेको छ र आइतबारसम्म सबै छपाइ सम्पन्न हुने छ । यसअघि कुल दुई करोड तीन लाख मतपत्र मध्ये एक करोड ७३ लाख छपाइ सकिएको छ । बाँकी ३० लाख मतपत्र छपाइ सकेपछि सबै मतपत्र तयार हुनेछ ।

उम्मेदवार धेरै भएका जिल्लामा ठूलो मतपत्र, कम उम्मेदवार भएका क्षेत्रमा सानो मतपत्र छपाइ हुनुपर्ने भएकाले केही दिन ढिला भएको थियो । छपाइ सकिएका जिल्लाका लागि नेपाली सेनामार्फत ढुवानी सुरु गरिएको छ ।

केन्द्रले १० लाख नमुना मतपत्र निर्वाचन आयोगलाई वितरण गरिसकेको छ भने दुई करोड ८ लाख ३० हजार समानुपातिक मतपत्र पनि जिल्ला जिल्लामा ढुवानी भइसकेको छ ।

कर्णाली प्रदेशका सल्यान, रुकुमपश्चिम, डोल्पा, मुगु, हुम्ला, कालीकोट, जुम्ला, जाजरकोट, दैलेख र सुर्खेतका मतपत्र ढुवानी सकिएको छ ।

कुल ५८ जिल्लाका १२४ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भइसकेको छ । अन्य छापिएका जिल्लाहरूमा सोलुखुम्बु, खोटाङ, धनकुटा, बागलुङ, गुल्मी, झापा, गोरखा, म्याग्दी, पर्वत, बर्दघाट सुस्तापश्चिम, मोरङ, उदयपुर, मुस्ताङ, लमजुङ, तनहुँ, स्याङ्जा, बर्दिया, रुकुमपूर्व, दाङ, बाँके, नवलपरासी (बर्दघाट सुस्तापूर्व), पाल्पा, अर्घाखाँची, प्यूठान, रुपन्देही, रोल्पा, मनाङ, रामेछाप, सिन्धुली, रसुवा र सिन्धुपाल्चोक समावेश छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया