ललितपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध निर्देशक यदुनाथ पौडेलले निर्वाचन आयोगले दिएको जिम्मेवारीअनुसार मतपत्र छपाइ सोमबार साँझ सम्पन्न गरिएको जानकारी दिनुभयो । आजदेखि सबै मतपत्र प्याकेजिङ गरी सम्बन्धित प्रदेशमा ढुवानी गरिने उहाँले बताउनुभयो ।
प्रबन्ध निर्देशक पौडेलका अनुसार प्रत्यक्षतर्फ दुई करोड तीन लाख मतपत्र छपाइ ४० दिनमै सम्पन्न गरिएको छ । ४२ दिनको कार्यतालिका भए पनि निर्धारित समयभन्दा छिटो काम सकिएको उहाँले बताउनुभयो । अब १० दिनभित्र सबै जिल्लामा मतपत्र पुर्याइने तयारी रहेको छ ।
केन्द्रले दैनिक १३ देखि १५ लाख मतपत्र छपाइ गर्दै आएको थियो । यसअघि १० लाख नमूना मतपत्र छपाइ गरी आयोगले विभिन्न स्थानमा पठाइसकेको छ । साथै दुई करोड आठ लाख ३० हजार समानुपातिकतर्फका मतपत्र जिल्लामा पठाउने कार्य जारी रहेको जनाइएको छ ।
प्रबन्ध निर्देशक पौडेलका अनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सबै मतपत्र पुगिसकेको छ भने अन्य क्षेत्रमा पनि १० दिनभित्र पुर्याउने गरी काम भइरहेको छ ।

















फेसबुकबाट तपाईको प्रतिक्रिया