ललितपुर - ललितपुर – निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले कर्णाली प्रदेशका हिमाली जिल्लामा छिट्टै मतपत्र पठाउने तयारी भइरहेको बताउनुभएको छ ।
प्रदेश निर्वाचन सुरक्षा समितिको आजको बैठकमा सचिव राउतले विशिष्ट अवस्थामा हुन लागेको निर्वाचन सुनिश्चित गर्न आयोगले कुनै कसर बाँकी नराख्ने स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, ‘निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा खटिने कर्मचारीको भत्ता, ढुवानी र हेलिकप्टर खर्च पठाइ सकिएको छ । आवश्यकतामा आयोगले थप काम गर्नेछ ।‘
उहाँले फागुन १० गतेदेखि मसान्तसम्मको मौसम अनुमान गरेर जल तथा मौसम विज्ञान विभागलाई मतपत्र पठाउन अनुरोध गरिएको र हुम्ला, मुगु र डोल्पामा फागुन ९, १० र ११ गतेभित्र मतपत्र पठाउने तयारी भइरहेको जानकारी दिनुभयो । साथै, तीन हजार मिटरभन्दा माथि जिल्लामा लेक लाग्ने अवस्थालाई मध्य नजर गरेर औषधि खरिदको बजेट सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पठाइएको सचिव राउतले बताउनुभयो ।
बैठकमा सुरक्षा प्रमुखहरूले निर्वाचन पूर्व र पश्चात मतदान केन्द्रमा खटाइने कर्मचारीको आउने जाने व्यवस्था सुनिश्चित गर्न अनुरोध गरेका थिए । आयोगले निर्वाचनमा खटिएका कर्मचारीलाई आफ्नो मताधिकार प्रयोग गर्ने अवसर दिनुपर्नेमा पनि जोड दिइएको थियो ।
प्रदेश कमाण्ड पोष्टका संयोजक लक्ष्मीकुमार विक, जिल्ला कमाण्ड पोष्टका अध्यक्ष जगदिश्वर उपाध्याय र अन्य सुरक्षा निकायका प्रमुखहरूले निर्वाचन तयारी, सुरक्षाका चुनौती र समस्या सम्बन्धमा प्रस्तुती राख्नुभएको थियो ।
सुर्खेत जिल्ला क्षेत्र नं. २ का मुख्य निर्वाचन अधिकृत दीपक ढकाल, सुरक्षा निकायका प्रमुख सञ्जय रञ्जित लगायतले निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थालाई मजबुत बनाइएको जानकारी दिनुभयो ।
आसन्न प्रतिनिधिसभा निर्वाचनमा कर्णाली प्रदेशमा १२ निर्वाचन क्षेत्र, १० लाख २४ हजार ६०६ मतदाता, ९५९ मतदानस्थल र १,४३८ मतदान केन्द्र रहेका छन् ।

बिजनेस पाटी