ललितपुर - ललितपुर – आज साँझसम्म उपत्यकालगायत, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यी स्थानमा बादल लाग्नुका साथै हल्का मेघगर्जन सुरु भएको महाशाखाले बताएको छ ।
मौसमविद् विभूती पोखरेलका अनुसार माथिल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यूनचापीय रेखाका कारण देशका विभिन्न भागमा हल्का वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी न्यूनचापीय रेखा कमजोर हुँदै जाने भएकाले मौसम क्रमिक रूपमा सुधार हुने उहाँले जानकारी दिनुभयो ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा पनि हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।
तराईका केही क्षेत्रमा बिहीबार बिहानसम्म हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यसले सवारी आवागमन र हवाई उडानमा सामान्य असर पार्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बिजनेस पाटी