ललितपुर - ललितपुर – पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण आज देशभर मौसम आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराईका केही स्थानमा हुस्सु तथा कुहिरो देखिएको छ ।
महाशाखाका अनुसार दिउँसो हिमाली भू–भागमा सामान्यतया बदली रहनेछ। गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने अनुमान गरिएको छ । तराईका बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ ।
उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षा हुन सक्ने सम्भावना रहेको छ। राति पनि हिमाली क्षेत्रमा बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराईमा सामान्यतया सफा मौसम रहने पूर्वानुमान गरिएको छ ।
हिमपात र हुस्सुका कारण चिसो बढ्न सक्ने भन्दै महाशाखाले दैनिक जनजीवन, स्वास्थ्य सेवा, पर्यटन, पदयात्रा, साथै हवाई र सडक यातायातमा असर पर्न सक्ने चेतावनी दिएको छ । आवश्यक सतर्कता अपनाउन सबै सरोकारवालालाई आग्रह गरिएको छ ।

बिजनेस पाटी