ललितपुर - जल तथा मौसम विज्ञान विभागले आगामी मनसुन २०८३ मा देशका धेरैजसो क्षेत्रमा औसतभन्दा कम वर्षा हुने प्रक्षेपण सार्वजनिक गरेको छ । साथै यस अवधिमा अधिकतम र न्यूनतम दुवै तापक्रम औसतभन्दा उच्च रहने सम्भावना पनि औँल्याइएको छ ।
ललितपुरमा शुक्रबार आयोजित कार्यक्रममा मौसमविद् सुदर्शन हुमागाईंले प्रस्तुत गरेको विवरणअनुसार देशभरको वर्षा अवस्था भौगोलिक रूपमा फरक–फरक रहनेछ ।
विभागका अनुसार कर्णाली प्रदेशका दक्षिणी भाग, लुम्बिनी प्रदेशका अधिकांश क्षेत्र, मधेश प्रदेशको पूर्वी भाग तथा कोशी प्रदेशको दक्षिणी क्षेत्रमा ५५ देखि ६५ प्रतिशतसम्म औसतभन्दा कम वर्षा हुने सम्भावना छ ।
त्यस्तै कर्णाली र कोशी प्रदेशका उत्तरी भूभागमा भने सरदर वर्षा हुने अनुमान गरिएको छ ।
सुदूरपश्चिम प्रदेशका अधिकांश क्षेत्र, मधेश प्रदेशको पश्चिमी भाग तथा कोशी प्रदेशको मध्य क्षेत्रमा ४५ देखि ५५ प्रतिशतसम्म कम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।
तापक्रमतर्फ पनि मनसुन अवधिभर देशभर अधिकतम तथा न्यूनतम दुवै तापक्रम औसतभन्दा बढी रहने सम्भावना ३५ देखि ६५ प्रतिशतसम्म रहेको मौसमविद् हुमागाईंले जानकारी दिए ।
यो प्रक्षेपण जेठ १८ गतेदेखि असोज १४ गतेसम्मको अवधिलाई आधार मानेर तयार गरिएको विभागले जनाएको छ ।

बिजनेस पाटी