नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार पदमुक्त नहुँदा उठे प्रश्न

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख २४
|
51 views

ललितपुर - सरकारले हालै विभिन्न समयका राजनीतिक नियुक्ति खारेज गर्न अध्यादेश जारी गरेपछि सरकारी, अर्धसरकारी तथा स्वायत्त निकायहरूमा पदाधिकारी पदमुक्त गर्ने प्रक्रिया अघि बढेको छ । तर, नेपाल मेडिकल काउन्सिल का रजिस्ट्रार डा. सतिशकुमार देव पदमुक्त नभएपछि सरकारको निर्णयमाथि प्रश्न उठ्न थालेका छन् ।

अध्यादेशअनुसार विभिन्न पेशागत काउन्सिलका रजिस्ट्रारहरू स्वतः पदमुक्त भए पनि नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. देवलाई भने यथावत् राखिएको छ। स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार अध्यादेश जारी हुनुअघि उनको पदमुक्तिबारे छलफल हुँदा प्रधानमन्त्री कार्यालयबाट तत्काल कुनै निर्णय नगर्न निर्देशन आएको थियो ।

    डा. देवको नियुक्ति र पद जोगिएको विषयलाई लिएर मन्त्रालयभित्र विभिन्न चर्चा भइरहेको बताइएको छ । उनी नारायण दाहाल निकट मानिने तथा हाल प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्की सँग पनि निकट सम्बन्ध रहेको चर्चा छ । प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौं महानगर प्रमुख हुँदा डा. देव महानगरभित्र सञ्चालित सुलभ फार्मेसीसँग सम्बन्धित रहेको पनि उल्लेख गरिएको छ ।

      यस विषयमा प्रतिक्रिया दिँदै रजिस्ट्रार डा. सतिशकुमार देवले आफूले पद जोगाउन कुनै भनसुन नगरेको बताएका छन् । उनले एक महिनादेखि नियमित कार्यालयका सरोकारवालाबाहेक अन्य कसैसँग भेट नभएको दाबी गरे ।

      उनले भने, मन्त्रालयबाट अन्य नियुक्तिका साथीहरू पदमुक्त भएको पत्र आयो त्यसमा मेरो नाम छैन। म सरकारबाट नियुक्त भएको व्यक्ति हुँ, सरकारले जे निर्देशन दिन्छ, त्यही गर्छु ।

      उनका अनुसार आफ्नो पद कार्यकारी प्रकृतिको भएकाले अचानक पदमुक्त गर्दा दैनन्दिन कामकाजमा असर पर्न सक्ने पक्ष पनि विचार गरिएको हुन सक्छ । उनले आफूलाई राजनीतिक व्यक्तिभन्दा विषय विज्ञ र प्राविधिक व्यक्तिका रूपमा हेर्नुपर्ने धारणा राखेका छन् ।

       पात्रो/राशिफल  रेडियो YouTube