ललितपुर - ललितपुर – गैरआवासीय नेपाली संघ स्पेन को आयोजनामा आगामी अप्रिल ५ तारिखदेखि आध्यात्मिक महोत्सव हुने भएको छ । महोत्सव बार्सिलोना स्थित सालोन एल प्रादो अल्मिरान्ते मा आयोजना गरिनेछ ।
बार्सिलोनामा नेपाल घर (मन्दिर) निर्माण गर्ने उद्देश्यअनुरुप आध्यात्मिक महोत्सव आयोजना गरिएको हो। महोत्सवका संयोजक एवं सन्तोष श्रेष्ठ का अनुसार करिब १ लाख ८० हजार युरो लागतमा नेपाल घर निर्माण गर्ने योजना छ । महोत्सवबाट करिब २ लाख युरो संकलन गर्ने लक्ष्य राखिएको छ, जसले परियोजनालाई अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
सामाजिक, सांस्कृतिक तथा धार्मिक कार्यका लागि साझा केन्द्र स्थापनाको उद्देश्यसहित नेपाल घर निर्माणको तयारी भइरहेको हो । महोत्सवका लागि आवश्यक सामग्री नेपालबाट ल्याउने तयारीसमेत भइरहेको आयोजकले जनाएको छ ।
संयोजक श्रेष्ठले स्पेनवासी नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई महोत्सवलाई भव्यताका साथ सफल पार्न आग्रह गरेका छन् । महोत्सवले प्रवासमा धार्मिक तथा सांस्कृतिक परम्पराको जगेर्ना र नेपाली भाषा, कला तथा संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

बिजनेस पाटी