पेल्टोलाको जितसँगै सिनेटमा डेमोक्रेटको बहुमत

BusinessPati बिजनेस पाटी
|
२०८३ मंसिर ३
|
102 views

ललितपुर - अलास्कामा रिपब्लिकन उम्मेदवारलाई पराजित गर्दै डेमोक्रेटिक उम्मेदवार मेरी पेल्टोलाले अमेरिकी सिनेटमा महत्त्वपूर्ण जित हासिल गर्नुभएको छ । उहाँको जितसँगै सिनेटमा डेमोक्रेटिक पार्टीले ५६–४४ को बहुमत प्राप्त गरेको छ ।

दुई कार्यकालका रिपब्लिकन सिनेटर डान एस सुलिभानलाई पराजित गर्नुभएकी पेल्टोलाको विजयलाई परम्परागत रूपमा रिपब्लिकनको प्रभाव रहेको अलास्कामा डेमोक्रेटिक पार्टीको महत्त्वपूर्ण सफलताका रूपमा हेरिएको छ ।

पूर्व राज्य विधायक पेल्टोलाले सन् २०२२ मा अमेरिकी कङ्ग्रेसमा निर्वाचित हुने पहिलो अलास्का मूल निवासी बनेर इतिहास रच्नुभएको थियो । उहाँले तत्कालीन रिपब्लिकन सांसद डन यङको निधनपछि रिक्त भएको प्रतिनिधिसभा सदस्य पदको विशेष निर्वाचन जित्नुभएको थियो ।

विजयपछि भिडियो सन्देश जारी गर्दै पेल्टोलाले अलास्कावासीले परिवर्तनका पक्षमा मतदान गरेको बताउनुभयो । भ्रष्टाचार र कर्पोरेट स्वार्थविरुद्ध लड्ने, दैनिक उपभोग्य वस्तु तथा इन्धनको मूल्य घटाउने र नयाँ आवास निर्माणलाई प्राथमिकता दिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । आगामी छ वर्ष अलास्काका सबै क्षेत्रका नागरिकसँग सहकार्य गर्दै राज्यको हितमा काम गर्ने उहाँको भनाइ थियो ।

यसैबीच, सिनेटमा डेमोक्रेटिक पार्टीका नेता चक शुमरले पेल्टोलाको विजयलाई ऐतिहासिक उपलब्धि बताउनुभएको छ । उहाँले अलास्कावासीका प्रमुख सरोकारका विषय माछा, परिवार र स्वतन्त्रतालाई केन्द्रमा राखेर पेल्टोलाले प्रभावकारी चुनावी अभियान सञ्चालन गर्नुभएको उल्लेख गर्नुभयो ।

शुमरले केही महिनाअघिसम्म डेमोक्रेटिक पार्टीले ५६ सिट जित्ने सम्भावना नरहेको बताउँदै महँगी, भ्रष्टाचार र राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको राजनीतिक अराजकतालाई चुनावी अभियानको मुख्य मुद्दा बनाउँदा सफलता मिलेको उल्लेख गर्नुभयो ।

उहाँले डेमोक्रेटिक पार्टीले अब महँगी घटाउने र अमेरिकी जनताको जीवनस्तर सुधार गर्ने विधेयक पारित गर्न प्राथमिकता दिने बताउनुभयो । ५६ सिटसहित स्थायी बहुमत निर्माण गर्ने अवसर प्राप्त भएको उल्लेख गर्दै उहाँले राष्ट्रपति ट्रम्पले त्यस्ता विधेयकमा भिटो लगाए पनि पार्टी आफ्नो अभियानबाट पछि नहट्ने बताउनुभयो ।

       पात्रो/राशिफल  रेडियो YouTube