
ललितपुर -
त्रिशूली बाढी तथा प्राकृतिक विपत्तिले निम्त्याएको पीडा, क्षति, बिछोड र त्रिशूलीसँग जोडिएका सम्झनालाई समेटेर सङ्गीतकर्मी साहस शाक्यको नयाँ गीत ‘मेरो त्रिशूली’ सार्वजनिक भएको छ।
गीतमा विपत्तिले निम्त्याएको पीडासँगै पुनः उठ्ने र ‘फेरि त्रिशूली हाँस्नेछ’ भन्ने आशालाई समेत भावनात्मक रूपमा प्रस्तुत गरिएको छ।
नुवाकोटमै जन्मिएका शाक्यको बाल्यकालदेखि युवावस्थासम्मको समय नुवाकोटमै बितेको हो। उनको साङ्गीतिक यात्राको सुरुवात र प्रारम्भिक सङ्घर्षसमेत नुवाकोटबाटै भएको हो। त्यसैले त्रिशूलीसँग उनको सम्बन्ध केवल गीतको विषय मात्र नभई बाल्यकालदेखिका सम्झना, भावना र जीवनसँग जोडिएको छ।
दुई दशकभन्दा बढी समयदेखि नेपाली सङ्गीत क्षेत्रमा सक्रिय चर्चित सङ्गीतकर्मी शाक्य विशेष गरी सङ्गीत संयोजकका रूपमा बढी चर्चित छन्। उनले हालसम्म करिब २,५०० भन्दा बढी गीतमा सङ्गीत संयोजन गरिसकेका छन्। नेपाली आधुनिक, पप, लोकलगायत विभिन्न विधाका गीतमा सङ्गीत संयोजन गर्दै आएका शाक्य चलचित्र सङ्गीतदेखि पार्श्व सङ्गीतसम्म सक्रिय छन्।
‘मेरो त्रिशूली’ मा भने शब्द, सङ्गीत, सङ्गीत संयोजन, स्वर तथा मिक्सिङ–मास्टरिङ शाक्यकै रहेको छ। गीतको स्टुडियो तथा लेबल सुदेश्ना इन्टरटेनमेन्ट रहेको छ।
गीतको क्यामेरा अनन्त अयाले चलाएका हुन भने भिडियो सम्पादन बिरेन्द्र भाट र बिपिनको रहेको छ। ‘मेरो त्रिशूली’ शाक्यको आधिकारिक YouTube च्यानलमार्फत सार्वजनिक गरिएको हो।

बिजनेस पाटी

