मध्यपूर्वमा जारी युद्ध थप चर्किंदै जाँदा सैन्य आक्रमण, प्रतिआक्रमण र आर्थिक असर एकैसाथ तीव्र बनेका छन् । इजरायल, इरान, लेबनान र खाडी क्षेत्रसम्म फैलिएको द्वन्द्वले क्षेत्रीय सुरक्षामात्र नभइ, विश्व अर्थतन्त्रमा समेत गम्भीर दबाब सिर्जना गरेको छ ।
बिहीबार बिहान इरानले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेपछि इजरायली हवाई सुरक्षाले त्यसलाई रोक्ने प्रयास गरेको जनाइएको छ । केही प्रहारहरू मध्य इजरायलका क्षेत्रमा खसेका बताइएका छन्, जसका कारण कम्तीमा चार जना सामान्य घाइते भएका छन् । यसअघि पनि तेल अभिव नजिकै भएको आक्रमणमा ११ वर्षीया बालिकासहित १४ जना घाइते भएको इजरायली आपतकालीन सेवाले जनाएको थियो ।
उत्तरतर्फ, लेबनानस्थित हिजबुल्लाह समूहले उत्तरी इजरायलमा ड्रोन र रकेट आक्रमण गरेको दाबी गरेको छ । इजरायली सेनाले सीमावर्ती क्षेत्रमा साइरन बजाइएको पुष्टि गरेको छ, यद्यपि तत्काल ठूलो क्षति वा मानवीय हताहतको विवरण सार्वजनिक भएको छैन । लेबनान सीमामा तनाव बढ्दै जाँदा त्यहाँ छुट्टै मोर्चा सक्रिय बनेको सङ्केत देखिएको छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य कारबाही अझ कडा बनाउने घोषणा गर्नुभएको छ । उहाँले थप दुईदेखि तीन हप्तासम्म ‘अत्यन्त कडा’ आक्रमण जारी रहने बताउँदै इरानले सम्झौता नगरे ऊर्जा पूर्वाधारसमेत निशाना बनाउन सकिने चेतावनी दिनुभएको छ । यस्तो आक्रमण अन्तर्राष्ट्रिय कानूनविपरीत हुन सक्ने भन्दै आलोचना भइरहेको छ ।
युद्धको प्रभाव ऊर्जा बजारमा प्रत्यक्ष देखिएको छ । ब्रेन्ट कच्चा तेलको मूल्य झन्डै सात प्रतिशतले बढेर प्रति ब्यारेल १०८.१५ डलर पुगेको छ भने वेस्ट टेक्सास इन्टरमिडियेट पनि पाँच प्रतिशतभन्दा बढी वृद्धि भई १०५.६५ डलरमा पुगेको छ । होर्मुज जलडमरूमध्यको अनिश्चितताले विश्व बजारमा थप अस्थिरता निम्त्याएको विश्लेषण गरिएको छ ।
इरानले अमेरिकी मागहरूलाई ‘अधिकतम र तर्कहीन’ भन्दै अस्वीकार गरेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ताका अनुसार विभिन्न मध्यस्थकर्तामार्फत सन्देश आदानप्रदान भए पनि अमेरिकासँग प्रत्यक्ष वार्ता नभएको स्पष्ट पारिएको छ । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले युद्धले ‘अमेरिका फर्स्ट’ नीति वास्तवमै कसको हितमा रहेको हो भन्ने प्रश्न उठाउँदै अमेरिका र इजरायलमाथि युद्ध अपराधको आरोप लगाउनुभएको छ ।
खाडी क्षेत्र पनि द्वन्द्वको चपेटामा परेको छ । संयुक्त अरब इमिरेट्सले आफ्नो हवाई सुरक्षाले मिसाइल र ड्रोनका धम्कीहरूलाई जवाफ दिइरहेको जनाएको छ । युद्ध सुरु भएदेखि नै खाडी देशहरू इरानी प्रतिआक्रमणको जोखिममा रहेका छन्, जसले क्षेत्रीय स्थायित्वमा थप चुनौती थपेको छ ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजले युद्धको स्पष्ट ‘अन्तिम विन्दु’ नदेखिएको टिप्पणी गर्नुभएको छ । उहाँका अनुसार प्रारम्भिक उद्देश्यहरू पूरा भएको दाबी गरिए पनि अब के हासिल गर्न खोजिएको हो भन्ने अस्पष्ट छ । युद्ध लम्बिँदै जाँदा यसको असर विश्वव्यापी अर्थतन्त्रमा झन् गहिरिँदै जाने उहाँले चेतावनी दिनुभएको छ ।
यसै सन्दर्भमा विश्व बैंकले मुद्रास्फीति, रोजगारी र खाद्य सुरक्षामा पर्ने प्रभावप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीबीच सहकार्य बढाएर सङ्कट व्यवस्थापनका उपाय खोज्ने प्रयास भइरहेको जनाइएको छ ।
इरानको रिभोलुसनरी गार्ड्सले रणनीतिक होर्मुज जलडमरूमध्य ‘शत्रुहरूका लागि बन्द’ रहने अडान दोहोर्याएको छ । यही मार्ग पुनः सञ्चालन हुनु युद्धविरामका लागि अमेरिकी सर्तमध्ये एक भएको बताइएको छ ।



















फेसबुकबाट तपाईको प्रतिक्रिया