२०८२ चैत्र २१ | Apr 04, 2026

मिथिला मध्यमा परिक्रमा : महोत्तरी यात्रा सम्पन्न, अब धनुषातर्फ प्रस्थान

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १२
|
306 views

ललितपुर – मिथिला मध्यमा परिक्रमा अन्तर्गतका यात्रीले महोत्तरी जिल्लाको यात्रा पूरा गरेका छन् । जिल्लाको भङ्गाहा–९ कञ्चनवनमा आठौँ दिनको रात्रिबास गरेका यात्री आज नवौँ दिन धनुषातर्फ प्रस्थान गरेका हुन् । कञ्चनवन यस यात्रामा होली महोत्सवका लागि प्रसिद्ध स्थल मानिन्छ ।

कञ्चनवन यस परिक्रमाको आठौँ रात्रिबास तथा महोत्तरीको पाँचौँ रात्रिबास स्थल हो । यात्राको चौथो दिन महोत्तरी प्रवेश गरेका श्रद्धालुले मटिहानी, जलेश्वर, मडै र ध्रुवकुण्डमा रात्रिबास गरिसकेका छन् ।

जनकपुरधाम लाई केन्द्र बनाएर १३३ किलोमिटरको वृत्तमा १५ दिनसम्म गरिने यस परिक्रमामा धनुषामा ६ र भारतको मधुवनी जिल्ला मा ४ रात्रिबासको परम्परा छ ।

फागुन औँसीका दिन धनुषाको मिथिलाविहारी नगरपालिकास्थित मिथिलाविहारी मन्दिरबाट सुरु भएको यो यात्रा मिथिलाविहारी (श्रीराम)किशोरीजी (सीताजी) का प्रतिमा राखिएको डोला साथ नाङ्गा खुट्टाले गरिन्छ । आज कञ्चनवनबाट धनुषा प्रस्थान गरेका यात्रीले रात्रिबास पर्वतामा गर्ने कार्यक्रम छ ।

यसअनुसार १०औँ दिन धनुषाधाम, ११औँ दिन सतोखरधाम, १२औँ दिन औरही र अन्तिम १५औँ दिनको रात्रिबास जनकपुरधामको रङ्गशाला मैदानमा हुनेछ । यसअघि पहिलो दिनको रात्रिबास धनुषाकै हनुमानगढीमा गरिएको थियो ।

भारतको मधुवनी जिल्लामा पर्ने कल्याणेश्वर (कलना), गिरिजास्थान (फुलहर), करुणा र बिसौल क्रमशः दोस्रो, तेस्रो, १३औँ र १४औँ दिनका विश्रामस्थल रहँदै आएका छन् । यस यात्रामा नेपालतर्फ १०७ र भारततर्फ २६ किलोमिटर दूरी पार गरिन्छ ।

मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी रवीन्द्रदास वैष्णव का अनुसार त्रेतायुगमा रामसीता विवाहपछि मिथिला राज्यका विभिन्न स्थानमा वनविहार गर्नुभएको विश्वासमा उहाँहरूको पदचाप पछ्याउने परम्पराअनुसार यो परिक्रमा गरिँदै आएको हो । मानव कल्याण र मोक्षको कामनासाथ यो यात्रा गरिने उहाँले बताउनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया