’आतङ्कवाद’ विरूद्धको लडाइमा सहकार्य गर्ने भारत र इजरायलबीच सहमति : प्रधानमन्त्री मोदी

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १४
|
510 views

ललितपुर - ललितपुर – भारत र इजरायलले आतङ्कवादविरूद्धको लडाइँमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । इजरायल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त धारणा राख्नुभएको हो ।

सन् २०१४ मा प्रधानमन्त्री बनेयता मोदीको यो प्रधानमन्त्रीका रूपमा दोस्रो इजरायल भ्रमण हो ।

जेरुसेलममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको भेटमा मोदीले भन्नुभयो, ‘भारत र इजरायल विश्वमा आतङ्कवादका लागि कुनै ठाउँ छैन भन्ने कुरामा स्पष्ट छन् । हामी काँधमा काँध मिलाएर आतङ्कवादविरूद्ध अभिनेछौँ ।

उहाँले जोड दिँदै भन्नुभयो, ‘मानवता कहिल्यै पनि द्वन्द्वको शिकार बन्नु हुँदैन ।

एक दिनअघि मोदीले इजरायलको संसदलाई सम्बोधन गर्दै प्रविधि, ऊर्जा, संयुक्त विकास, उत्पादन र प्रविधि हस्तान्तरणका क्षेत्रमा सहकार्य विस्तार गर्ने उल्लेख गर्नुभएको थियो । साथै नागरिक परमाणु ऊर्जा र अन्तरिक्ष क्षेत्रमा समेत सहयोग अगाडि बढाइने बताउनुभयो ।

दुवै नेताले भ्रमणलाई व्यापार, लगानी र प्राविधिक साझेदारी प्रगाढ बनाउने पहल का रूपमा चित्रण गरेका छन् । स्वतन्त्र व्यापार सम्झौता, सेमीकन्डक्टर, कृत्रिम बौद्धिकता र भारतको ‘यूपीआई’ डिजिटल भुक्तानी प्रणालीलाई इजरायली बजारमा विस्तार गर्ने विषयमा पनि छलफल भएको बताइएको छ ।

नेतान्याहुले मोदीलाई ‘एक मित्रभन्दा बढी, एक भाइ‘ को संज्ञा दिँदै दुई देशको सम्बन्धलाई बलियो र विस्तारित साझेदारीको रूपमा वर्णन गर्नुभयो । उहाँले भन्नुभयो, ‘भविष्य नवप्रवर्तन गर्नेहरूको हो, र इजरायल तथा भारत नवप्रवर्तनमा तल्लीन छन् ।

बिहीबार दुई नेताको उपस्थितिमा शिक्षा, भौगोलिक अन्वेषण र कृत्रिम बौद्धिकता (एआई) लगायतका क्षेत्रमा दर्जनभन्दा बढी सम्झौतामा हस्ताक्षर भएका छन् ।

मोदीको भ्रमण मध्यपूर्व र गाजा द्वन्द्व आसपासको तनाव शान्त पार्ने कूटनीतिक पहल चलिरहेकै बेला भएको हो ।

 पात्रो/राशिफल  रेडियो YouTube