खाद्यान्नमा मिसावट अभियोगमा १९ व्यवसायीविरुद्ध मुद्दा दायर

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २७
|
1.1k views

ललितपुर - ललितपुर – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले खाद्यान्नमा मिसावट गरेको अभियोगमा १९ व्यवसायीविरुद्ध मुद्दा दायर गर्ने तयारी गरेको छ । कार्यालय र मातहतका डिभिजन कार्यालयहरूले गरेको अनुगमन तथा नमूना परीक्षणबाट देखिएको कैफियतका आधारमा कानुनी प्रक्रिया अघि बढाइएको हो ।

कार्यालय प्रमुख बिनिता पोखरेलका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा संकलित नमूनाको परीक्षणबाट खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत गतिविधि पुष्टि भएकाले सरकारी वकिल कार्यालयसँग समन्वय गरी मुद्दा दर्ता गर्न अनुसन्धान भइरहेको छ । जेनजी आन्दोलनका कारण अदालतमा मुद्दा दर्ता हुन ढिलाइ भएको भए पनि केही दिनभित्रै मुद्दा दायर गरिने उहाँले बताउनुभयो ।

गत आर्थिक वर्ष २०८१/८२ मा भने ४४ व्यापारीविरुद्ध मुद्दा दायर गरिएको थियो ।

अनुगमनका क्रममा स्वास्थ्य प्रतिकूल हुनेगरी मिसावट गर्ने, म्याद गुज्रेका सामान बिक्री गर्ने व्यवसायीलाई सम्बन्धित जिल्ला अदालतमा कारबाहीका लागि पठाइने प्रमुख पोखरेलले जानकारी दिनुभयो ।

यस आवमा हालसम्म २४५ नमूना विश्लेषण गर्दा २०० नमूना खानयोग्य, पाँच होल्डमा राखिएको पाइएको छ । त्यस्तै ३६५ नमूना परीक्षण गर्दा १६ नमूना प्रतिकूल देखिएकाले कानुनी प्रक्रिया, पुनः जाँच तथा सुधारका लागि निर्देशन दिइएको छ ।

अनुगमनका क्रममा म्याद सकिएका, लेबलविहीन तथा अखाद्य वस्तु गरी करिब ३११ किलो (मूल्य रु १ लाख २ हजार २६५ बराबर) खाद्य सामग्री जफत गरी नष्ट गरिएको छ ।

कार्यालयले हालसम्म १२१ खाद्यान्न बजार, १०० खाद्य तथा दाना उद्योग र ५६ होटल तथा रेष्टुराँ मा निरीक्षण गरेको जनाएको छ । साथै चालु आवमा विभिन्न शीर्षकमा रु १० लाख ४ हजार ३७० राजस्व संकलन भएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube