ललितपुर – पृथ्वी राजमार्ग अन्तर्गतको मुग्लिन–मलेखु सडकखण्डमा हुने दुर्घटनाका घाइतेलाई उपचारका लागि भरतपुर ल्याउन दूरी र सुविधाका हिसाबले सहज देखिएको छ । नारायणगढ–मुग्लिन सडक सहज भएकाले काठमाडौंभन्दा भरतपुर छिटो पुग्न सकिने चिकित्सकहरूको भनाइ छ ।
भरतपुर अस्पताल ले ट्रमा सेन्टर सञ्चालनमा ल्याएको छ । अस्पतालमा २० जना अर्थाेपेडिक सर्जन र २१ जना जनरल सर्जन कार्यरत छन् । मेडिकल सुपरिटेन्डेन्ट कृष्णप्रसाद पौडेल का अनुसार सिटी स्क्यान, एमआरआईलगायत आवश्यक उपकरण पर्याप्त छन् र मुटु तथा नसासम्बन्धी जटिल उपचारसमेत यहाँ सम्भव छ ।
त्यस्तै, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस ले पनि दुर्घटनाका घाइतेको उपचारका लागि आवश्यक जनशक्ति र उपकरण तयारी अवस्थामा राखेका छन् ।
चितवन मेडिकल कलेजका निर्देशक तथा आकस्मिक विभाग प्रमुख दयाराम लम्साल ले दुर्घटनापछि पहिलो एक घण्टालाई ‘गोल्डेन आवर’ भनिने उल्लेख गर्दै जतिसक्दो छिटो अस्पताल पुर्याउन सकेमा घाइते बच्ने सम्भावना उच्च हुने बताउनुभयो ।
मुग्लिन–मलेखु सडकका घाइते काठमाडौँ पठाउँदा उकालो र अप्ठ्यारो सडक पार गर्नुपर्ने हुन्छ भने भरतपुर आउँदा छोटो र सहज सडक पर्ने भएकाले उपचार छिटो सम्भव हुने चिकित्सकहरूको तर्क छ ।
धादिङका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद न्यौपाने ले उद्धार र व्यवस्थापनबीच समन्वय अभावका कारण यो विषयमा पर्याप्त ध्यान नपुगेको बताउनुभयो ।
धादिङमा लामो समयदेखि पत्रकारिता गर्दै आउनुभएका पोषनाथ अधिकारी का अनुसार विगतमा नारायणगढ–मुग्लिन सडक अप्ठ्यारो भएकाले घाइते काठमाडौँ पठाउने चलन थियो, तर अहिले सडक सहज भए पनि पुरानै अभ्यास दोहोरिँदै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया