निर्वाचनको रौनकबाट टाढा चितवनको माझी, मुसहर बस्ती

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १४
|
816 views

ललितपुर - ललितपुर – देशभर निर्वाचनको माहोल भए पनि यहाँको एक बस्तीमा हालसम्म कुनै किसिमको रौनक देखिएको छैन ।रत्ननगर नगरपालिका–८ स्थित माझी, मुसहर टोल निर्वाचनको रौनकतादेखि टाढा छ । २९ घरपरिवार रहेको सो टोलकी अध्यक्ष बासमती माझीले उम्मेदवारहरूको नजर आफ्नो बस्तीमा नपरेको गुनासो गर्नुभयो । उहाँका अनुसार अहिलेसम्म कुनै उम्मेदवार मत माग्न आएका छैनन् ।

अघिल्ला निर्वाचनमा दलका प्रतिनिधि आउँथे तर यसपटक कोही नआएको स्थानीयको भनाइ छ । मतदाता शिक्षा स्वयंसेवकसमेत नआएकाले मतदानबारे जानकारी कम रहेको बासमती माझीले बताउनुभयो।

ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका समुदायमा शिक्षा, स्वास्थ्य र रोजगारीको अभाव छ । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता भएका महेश माझीले निर्वाचनप्रति रुचि नदेखाएको र मतदान गर्ने इच्छा नभएको बताउनुभयो । रोजगारी नपाएपछि अटो भाडामा लिएर चलाउँदै आएको उहाँको भनाइ छ ।

कक्षा १२ सकेकी अञ्जली माझीले पनि दलका उम्मेदवारले बस्तीलाई बिर्सेको गुनासो गर्नुभयो । मतदान गर्ने तरिका र निर्वाचनबारे जानकारी नपाएको उहाँको भनाइ छ।

स्थानीयको गुनासो छ— निर्वाचनमा सबै समुदायलाई समेटिनुपर्छ, तर यसपटक उनीहरू उपेक्षित महसुस गरिरहेका छन् ।

 पात्रो/राशिफल  रेडियो YouTube