ललितपुर - ललितपुर – मुस्ताङमा चालु आर्थिक वर्षको साउनदेखि माघसम्म तीन लाख २५ हजार ५५८ जना पर्यटक भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार यस अवधिमा विदेशी ६९ हजार ८१४ र स्वदेशी दुई लाख ५२ हजार ६६४ पर्यटकले मुस्ताङ भ्रमण गरेका हुन् ।
प्रहरीका अनुसार राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकमार्ग हुँदै साउनमा १९ हजार ७८१, भदौमा २३ हजार २०५, असोजमा ७५ हजार ५९९, कात्तिकमा ८३ हजार ७६६, मङ्सिरमा ४९ हजार ५०, पुसमा ३९ हजार १५३ र माघमा ३२ हजार चार जना पर्यटक मुस्ताङ भित्रिएका छन् ।
गत वर्षको सोही अवधिमा तीन लाख ४० हजार ७२९ पर्यटक भित्रिएका थिए। यस वर्ष सोही अवधिमा १८ हजार १७१ जना (५.३३ प्रतिशत) ले कमी आएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज न्यौपानेका अनुसार म्याग्दी–मुस्ताङ सिमानाको घाँसाबाट सडकमार्ग हुँदै प्रवेश गर्ने पर्यटकको अभिलेख सङ्कलन गरिन्छ । साथै, पोखरा–जोमसोम हवाई सेवा तथा मनाङ हुँदै थोरङला पास पार गरी मुस्ताङ प्रवेश गर्ने पर्यटकको विवरण सम्बन्धित प्रहरी एकाइले सङ्कलन गर्ने गरेका छन् ।
प्रहरीको तथ्याङ्कअनुसार आव २०८०/८१ मा चार लाख ५४ हजार ३२६ र आव २०८१/८२ मा सात लाख पाँच हजार ७७९ पर्यटक मुस्ताङ भित्रिएका थिए ।
बेनी–जोमसोम–कोरला सडक सहज बन्दै जाँदा पर्यटक आगमनदर बढ्दै गएको बताइएको छ । सार्क राष्ट्रका पर्यटकमध्ये अधिकांश भारतीयले मुक्तिनाथ दर्शन गर्ने गरेका छन् भने अन्य विदेशी पर्यटक बेनी–जोमसोम सडकमार्ग र मनाङ हुँदै थोरङला पास पार गरेर मुस्ताङ पुग्ने गर्छन् ।
कागबेनीधाममा श्राद्ध तथा मुक्तिनाथ मन्दिर दर्शनका लागि स्वदेशी पर्यटकको सङ्ख्या पनि बढ्दो छ । भित्रिएका पर्यटकमध्ये करिब तीन प्रतिशत विदेशीले माथिल्लो मुस्ताङको भ्रमण गर्ने गरेका छन्। जोमसोम–कोरला सडक सहज भएपछि स्वदेशी पर्यटक कोरलानाकासम्म पुग्ने क्रम पनि उल्लेख्य रूपमा बढेको छ ।

बिजनेस पाटी