माइनस तापक्रमबीच मुस्ताङमा बढ्दो चुनावी माहोल

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १४
|
663 views

ललितपुर - ललितपुर – माइनस डिग्री तापक्रमका बाबजुद मुस्ताङमा निर्वाचन सरगर्मी बढिरहेको छ । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दल र उम्मेदवारहरूको प्रचार–प्रसार अभियान उत्कर्षमा पुगेको छ ।

अघिल्लो महिना माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुगेको थियो, भने हाल माथिल्लो मुस्ताङमा माइनस १० डिग्री र तल्लो मुस्ताङमा माइनस ३ डिग्री तापक्रम कायम छ । चिसो र प्रतिकूल मौसमका बाबजुद घाँसादेखि नेपाल–चीन सिमानाका कोरलासम्म चुनावी माहोल तातिएको छ ।

जिल्लामा उम्मेदवारी दर्ता गराएका आठ दलमध्ये छ दल सक्रिय रूपमा प्रचार–प्रसारमा केन्द्रित छन् । मुख्य प्रतिस्पर्धामा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रहेका छन् भने उज्यालो नेपाल र राप्रपाले पनि चुनौती दिने आकलन गरिएको छ ।

जाडो छल्न बेंसी झरेका अधिकांश मतदाता अझै फर्किएका छैनन्, तर मतदातालाई जिल्ला फर्काउन दल र उम्मेदवारले विशेष पहल गरिरहेका छन् ।

उम्मेदवारहरूले पूर्वाधार निर्माण, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन, शिक्षा विस्तार, स्वास्थ्य पूर्वाधार सुदृढीकरण, कोरलानाका विकास, मुस्ताङ–डोल्पा र मुस्ताङ–मनाङ सडकमार्ग पूर्णता जस्ता विषयलाई प्राथमिकतामा राखेका छन् । साथै भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण र नापी हुन छुटेका जग्गाको पुनः नापनक्सा गर्ने प्रतिबद्धता जनाइएको छ ।

निर्वाचनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । कर्मचारी व्यवस्थापन, तालिम र कार्यविभाजन सकिएको छ ।

निर्वाचन सुरक्षाका लागि नेपाल प्रहरीबाट ५०१ र सशस्त्र प्रहरीबाट २०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । साथै नेपाली सेनाले माथिल्लो र तल्लो मुस्ताङमा सुरक्षा बेस क्याम्प स्थापना गरी गस्ती तीव्र पारेको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube