मुस्ताङ । मुस्ताङ जिल्लाको मुक्तिनाथमा छ महिनासम्म निरन्तर महायज्ञ हुने भएको छ । हिन्दू तथा बौद्धमार्गीहरुको साझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरका पिठादिश्वर जगतगुरु स्वामी कमलनयनाचार्यको अगुवाइमा आइतबार (चैत २४ गते)देखि बडादसैँसम्म मुक्तिनाथ मन्दिर परिसरमा महायज्ञ सञ्चालनको तयारी भएको हो । चैत २४ अर्थात् आइतबार रामनवमीकै दिनदेखि महायज्ञ सुरु हुनेछ ।
मुक्तिनाथधामको प्रचारप्रसारका साथै विश्वशान्तिको कामना गर्दै मुक्तिनाथमा महायज्ञ चलाउने तयारी भएको हो । यसका लागि स्वामी कमलनयनाचार्यको नेतृत्वमा श्रीगजेन्द्रमोक्ष दिव्यधाम त्रिवेणी नवलपरासीबाट प्रस्थान गरेको श्रीगजेन्द्रमोक्षनारायण मुक्तिनाथ रथयात्रा टोली चौथो दिन मुस्ताङको जोमसोमस्थित गणेश मन्दिरमा आइपुगेको छ ।
रथयात्रा टोलीमा स्वामी कमलनयनाचार्यसहित दर्जनौँ स्वामी पूजारी तथा दुई सयभन्दा बढी भक्तजनको सहभागिता रहेको छ । श्रीगजेन्दमो क्षनारायण–मुक्तिनाथ रथयात्रा टोली शुक्रबार (आज) जोमसोमबाट कागबेनीधाम हुँदै मुक्तिनाथ पुगेर समापन हुने बताइएको छ । नवलपुरबाट जोमसोम आइपुगेको रथयात्रा टोलीलाई मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसाल, घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनसहित पर्यटन व्यवसायी तथा स्थानीय नागरिक, सुरक्षाकर्मी र कर्मचारीलगायतले स्वागतसत्कार गरेका थिए ।
मुस्ताङको जोमसोममा राष्ट्रिय लोक भजन चुड्का (संस्कृति) प्रतिष्ठान शाखा मुस्ताङले रथयात्रा टोलीलाई भजनचुड्काद्वारा स्वागत गरेको थियो । प्रतिष्ठानद्वारा आयोजित स्वागत कार्यक्रममा मुक्तिनाथ मन्दिरका पीठादिश्वर जगतगुरु स्वामी कमलनयनाचार्यले गण्डकीको सभ्यतालाई जोगाउन रथयात्रा तथा महायज्ञ चलाउने तयारी गरिएको बताउनुभयो ।
“जिन्दावाद र मुर्दावादको नारामा अल्झिने छोडेर सबैले आफ्ना आफ्ना सकारात्मक कर्म गरेर अघि बढ्नुपर्ने बेला आएको छ” भन्दै स्वामी कमलनयनाचार्यले यस किसिमको महायज्ञले विश्वशान्तिको कामना र समुन्नत नेपालको परिकल्पना गरिने बताउनुभयो ।
रथयात्रापछि चैत २४ गतेदेखि सुरु हुने महायज्ञ बडादसैसम्म चल्नेछ । महायज्ञका अवसरमा वेद, पुराण, रामायण, गीतालगायतका शास्त्रहरुको पाठ परायण र हवन समेत हुनेछ ।