२०८२ भाद्र ६ | Aug 22, 2025

नबिल बैंक चालू आर्थिक वर्षमा सर्वाधिक नाफा कमाउन सफल

BusinessPati बिजनेस पाटी
|
२०८२ बैशाख ७

काठमाडौं । चालू आर्थिक वर्षको सर्वाधिक नाफा कमाउने बैंकमा नबिल बैंक लिमिटेट परेको छ । नबिल बैंक लिमिटेड (NABIL) प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नेपालका सबै वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी नाफा कमाउन सफल भएको छ।

बैंकले चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा पाँच अर्ब पाँच करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८.२१ प्रतिशतले बढी हुन आउँछ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस आर्थिक वर्षमा बैंकको ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.९६ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २.२७ प्रतिशतले बढेको छ।

त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ०.२० प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १४.०३ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ३ अर्ब २३ करोडबाट घटेर २ अर्ब २९ करोडमा सीमित भएकै कारण बैंकको नाफा बढेको देखिन्छ ।

चालू आर्थिक वर्षमा बैंकको नाफासँगै प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ६५ पैसा बढेर २४ रुपैयाँ ८९ पैसा पुगेको छ। चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य आम्दानी २ अर्ब ८७ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १२ रुपैयाँ ६८ पैसा रहेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १९.५६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २२६ रुपैयाँ ३६ पैसा रहेको छ।

चालू आर्थिक वर्षको पहिलो नौ महिनाको अवधिमा अर्थात् तेस्रो त्रैमासको अन्त्यसम्ममा बैंकले ५ खर्ब २ अर्ब १० करोड ६१ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब १ अर्ब १६ करोड २३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया