नबिल ४२औँ वर्षमा, एआईमार्फत भविष्यको बैंकिङमा जोड

BusinessPati बिजनेस पाटी
|
२०८३ असार २८
|
102 views

ललितपुर - नेपालको निजी क्षेत्रको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेडले स्थापनाको ४२औँ वर्ष पूरा गर्दै ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणालाई थप सुदृढ बनाउने तथा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित भविष्यको बैंकिङ सेवाको नेतृत्व गर्ने प्रतिबद्धता जनाएको छ।

वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले विगत ४२ वर्षदेखि नबिल बैंकको सबैभन्दा ठूलो सम्पत्ति ग्राहकको विश्वास रहेको उल्लेख गर्दै आगामी दिनमा पनि नवप्रवर्तनमार्फत बैंकिङ क्षेत्रको नेतृत्व गर्ने बताए।

    उनले नबिल बैंकले आधुनिक बैंकिङको सुरुआतदेखि डिजिटल बैंकिङसम्म महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै ‘एनबैंक (nBank)’ एपमार्फत डिजिटल बैंकिङ अनुभवलाई नयाँ उचाइमा पुर्‍याएको बताए। एउटै छानामुनि वाणिज्य बैंकिङ, इन्भेष्टमेन्ट बैंकिङ, स्टक ब्रोकर, मर्चेन्ट बैंकिङ, क्यापिटल मार्केट र डिजिटल बैंकिङ सेवा उपलब्ध गराउने नेपालको एकमात्र पूर्ण वित्तीय इकोसिस्टम भएको पनि उनले दाबी गरे।

    एआई केन्द्रमा राखेर बैंकिङ सेवा विस्तार

    अध्यक्ष चौधरीले अबको बैंकिङ युग आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को हुने उल्लेख गर्दै नबिल बैंकले यस प्रविधिलाई आफ्नो डिजिटल रणनीतिको केन्द्रमा राख्ने जानकारी दिए। उनका अनुसार एआईमार्फत द्रुत कर्जा प्रवाह, प्रभावकारी जोखिम व्यवस्थापन, व्यक्तिगत ग्राहक अनुभव, वित्तीय समावेशीकरण तथा साइबर सुरक्षालाई थप मजबुत बनाइनेछ।

    उनले प्रविधिको विकाससँगै बैंकिङलाई अझ मानवीय, विश्वासिलो र प्रभावकारी बनाउने उद्देश्य रहेको स्पष्ट पारे।

    ‘विश्वासिलो र भविष्यका लागि तयार बैंक’ बन्ने लक्ष्य

    बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले १९८४ मा सुरु भएको नबिल बैंकको यात्रा आज लाखौँ ग्राहकको विश्वास र हजारौँ कर्मचारीको समर्पणका कारण सफल बनेको बताए।

    उनले ग्राहकका सपना र सम्भावनाको साझेदारका रूपमा नबिल बैंकले दिगो मूल्य सिर्जना गर्दै ‘नेपालको सबैभन्दा विश्वासिलो, भरपर्दो र भविष्यका लागि तयार बैंक’ बन्ने लक्ष्य लिएको जानकारी दिए।

      रणनीतिक क्षेत्रमा लगानी विस्तार

      बैंकले देशको आर्थिक विकासमा योगदान पुर्‍याउने उद्देश्यले विभिन्न उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्दै आएको जनाएको छ। हालसम्म कृषि क्षेत्रमा ५३ अर्ब ३१ करोड रुपैयाँ, ऊर्जा क्षेत्रमा ५१ अर्ब ६ करोड रुपैयाँ, लघु, घरेलु, साना तथा मझौला उद्योग (एमएसएमई) क्षेत्रमा ४५ अर्ब ९२ करोड रुपैयाँ तथा पर्यटन क्षेत्रमा ११ अर्ब १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले जनाएको छ।

      वित्तीय सूचकमा उल्लेखनीय वृद्धि

      नबिल बैंकका अनुसार स्थापनाकालमा २ करोड ८० लाख रुपैयाँ रहेको नेटवर्थ चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ७० अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा खुद नाफा १० लाख रुपैयाँबाट बढेर ६ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ।

      त्यसैगरी, निक्षेप १४ करोड ६० लाख रुपैयाँबाट बढेर ५ खर्ब ८८ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १३ करोड ३० लाख रुपैयाँबाट बढेर ४ खर्ब ६४ अर्ब १० करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ। कुल सम्पत्ति पनि २६ करोड ९० लाख रुपैयाँबाट बढेर ७ खर्ब १८ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ।

      हाल बैंकले देशभर २६४ शाखा, ३१५ एटीएम, १८ एक्सटेन्सन काउन्टर तथा २,४६९ कर्मचारीमार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ।

      ४२औँ वार्षिकोत्सवमा विशेष अफर

      वार्षिकोत्सवको अवसरमा बैंकले ४२ दिनसम्म सञ्चालन हुने विशेष ग्राहक-केन्द्रित योजना सार्वजनिक गरेको छ।

      यसअन्तर्गत हेटौँडा र वीरगञ्ज क्षेत्रमा सडक विस्तारबाट प्रभावित नागरिकका लागि सहुलियतपूर्ण पुनःनिर्माण घर कर्जा योजना ल्याइएको छ। साथै लकर सेक्युरिटी डिपोजिटमा ४२ प्रतिशत छुट, इलेक्ट्रोनिक पेमेन्ट गेटवे (EPG) इन्टिग्रेसन शुल्कमा ५० प्रतिशत छुट तथा क्रेडिट कार्ड आवेदन र सदस्यता शुल्कमा विशेष छुट प्रदान गरिने बैंकले जनाएको छ।

      डेबिट कार्डका लागि वार्षिकोत्सवकै दिन आवेदन दिने ग्राहकले चार वर्षसम्म विशेष सुविधा प्राप्त गर्ने व्यवस्था पनि गरिएको छ।

      चार दशकभन्दा लामो बैंकिङ यात्रामा नबिल बैंकले डिजिटल बैंकिङ, दिगो वित्तीय सेवा र नवप्रवर्तनलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि ग्राहक र अर्थतन्त्रको समृद्धिका लागि सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

       पात्रो/राशिफल  रेडियो YouTube