
ललितपुर - सर्वोच्च अदालतले काठमाडौंका नदी किनार तथा सार्वजनिक स्थानमा बनाइएका बस्ती तत्काल खाली नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
शुक्रबार (वैशाख २५) न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले रिटमाथि सुनुवाइ गर्दै उक्त आदेश दिएको हो ।
काठमाडौं महानगरपालिका र जिल्ला प्रशासन कार्यालयले नदी किनारका सुकुम्वासी बस्ती खाली गर्न सूचना जारी गरेपछि सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो ।
थापाथली बस्तीका गोपाल रन पहेली तथा जेन–जी अभियानका अगुवा ओजस्वी भट्टराई, अर्णव चौधरी, तनुजा पाण्डे, माजिद अन्सारी, प्रज्वलविक्रम राणा, कविता राई र विकासकुमार गुप्तालगायतले रिट निवेदन दायर गरेका हुन् ।
यसै विषयमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले पनि छुट्टै रिट दायर गरेका थिए ।
सुकुम्वासी हटाउने अभियानका क्रममा पछिल्लो एक सातामा काठमाडौं उपत्यकामा १५ हजारभन्दा बढी सुकुम्वासी परिवार विस्थापित भएको बताइएको छ ।

बिजनेस पाटी















