नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित

BusinessPati बिजनेस पाटी
|
२०८३ भाद्र २१
|
255 views

ललितपुर - धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सर्लाहीको नाढीमन ताल परिसरमा पुन :पर्यटकीय गतिविधि बढ्दै गएको छ ।

जैविक विविधता युक्त यस ताललाई केही समय पहिला संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशको १०० पर्यटकीय गन्तव्यमा सूचीकृत गरेको थियो तर आन्तरिक व्यवस्थापन र तालको पर्यटन प्रवद्र्धनमा बेवास्ता हुँदा लामो समय सुनसान प्राय बनेको तालमा फेरि एक पटक चहलपहल सुरु भएको हो ।

बाउन्न बिगाहा क्षेत्रफल रहेको भनिएको यस नाढीमन ताल चन्द्रनगर गाउँपालिका–६ र ७ मा फैलिएको छ । चारै तर्फबाट अतिक्रमणको चपेटामा परेको तालको अहिले ३५ बिगाहा क्षेत्र पानीले ओगटेको छ भने बाहिरी भागको दक्षिण पश्चिम क्षेत्रमा मिथिला कलाघर, ‘चिल्ड्रेन पार्क’, निर्माण भएको छ ।

तालको चारैतिर सडकसहितको ड्याम निर्माण गरी पर्यावरणीय हिसाबले विकास गर्ने गरी वृक्षरोपणका कार्यक्रम पनि अघि सारिएको पालिकाका अध्यक्ष राजकुमार महतोले जानकारी दिनुभयो । ताल परिसरमै निर्माण भएको साबिक गाविस कार्यालय, श्री मरीचि मानेश्वर महादेव मन्दिर, धर्मशाला भवन र गाउँपालिकाको प्रशासनिक भवनले तालको केही क्षेत्र ओगटेको छ ।

    विक्रम संवत् २०७२ मा राष्ट्रपति चुरे संरक्षण विकास कार्यक्रमअन्तर्गत नेपाली सेनाले ताल परिसर सरसफाइ गरी, मानिस बस्ने बेन्च निर्माण गर्ने र वृक्षरोपण लगायतका काम गरेको थियो । संरक्षण अभावमा जलकुम्भीले ढाकेर कुरूप बनेको ताल परिसर आकर्षक बनेको थियो । जनमानसमा तालको चर्चा चुलिएपछि पर्यटकको आगमन सुरु भएको थियो । घुम्न आउने मानिसको उपस्थितिबाट उत्साहित स्थानीय व्यापारीहरूले ठूलो लगानी गरेर व्यापार–व्यवसाय सञ्चालन गर्नुभयो तर त्यो धेरै समय टिकेन ।

      ताल संरक्षणमा फेरि लापरबाही हुँदै गएसँगै अस्तव्यस्त ताल कुरूपसँगै सुनसान बन्दै गयो । तालको छेवैमा लाग्दै आएको हाटबजार सुक्यो । पर्यटकहरूलाई लक्षित गरेर सञ्चालन गरिएको पसल, होटल व्यवसाय सबै पलायन भयो । एक दिन यस क्षेत्रमा फेरि चलहपहल सुरु हुने आशले बस्नुभएका व्यापारीहरू पछिल्ला दिनमा धार्मिक तथा अन्य पर्यटकको उपस्थितिबाट उत्साहित हुनुभएको छ ।

      प्रशस्त सम्भावना बोकेको यस ताल २०८१ सालमा ठेकेदारले माछा निकाल्न भनेर सुकाएपछि गौचरनमा परिणत भएको थियो । त्यसपछि बिस्तारै पुरानो अवस्थामा फर्कंदै गएको तालमा अहिले पानी भरिभराउ भएको छ । तालमा पानी आउने कुनै ठूलो स्रोत छैन । यहाँ जमिन मुनिबाट नियमित जरुवा पानी निस्कने गरेको छ । यसैबाट ताल सधैँ भरिभराउ रहने गरेका अध्यक्ष महतोले बताउनुभयो ।

      लामो समय अस्तव्यस्त बनेको ताल सुन्दर बन्दै गएसँगै पर्यटक आउन थालेका स्थानीय व्यापारी लक्ष्मी सिंहले जानकारी दिनुभयो । आन्तरिक तथा बाह्य भारतको विहार राज्यका विभिन्न जिल्लाबाट आउने पर्यटकका कारण स्थानीय व्यापारीहरू उत्साहित हुनुहुन्छ । शनिबार ताल परिसरको पार्कमा छोरा घुमाउन आउनुभएको सर्लाहीको बरहथवा–५ निवासी बुद्धबहादुर थिङले ताल परिसर सुनेकोभन्दा सुन्दर रहेको प्रतिक्रिया दिनुभयो ।

      सुविधा नहुँदा तालमा एक पटक आउने पर्यटक फर्केर आउने वातावरण नरहेको उहाँले गुनासो गर्नुभयो । उहाँले ताल परिसरमा रहेका संरचनाको प्रयोग र व्यवस्थापन निकै कम्जोर रहेको बताउनुभयो । पार्कमा भर्खर निर्माण भएको बालबालिकाले खेल्ने संरचनाहरू जीर्ण अवस्थामा छ । केही धरापका रुपमा रहेकाले निकै जोखिम रहेको उहाँले बताउनुभयो । त्यसतर्फ स्थानीय सरकारलाई ध्यान दिनसमेत उहाँको अनुरोध छ ।

      यस गाउँपालिकाले ताल परिसरमा पार्क, प्रतीक्षालय, मठमन्दिर, शौचालयलगायत संरचना निर्माणका लागि २०८१ असार २१ गते सात करोड ८० लाख ४३ हजार १९ रुपैयाँ ७० पैसामा ठेक्का लगाएको थियो । ३६ महिनामा निर्माण सम्पन्न गर्ने गरी एस एन्ड एस-काल्सा जेभी बागमती सर्लाहीले निर्माणको जिम्मा लिएको हो । नाढीमन ताल परिसरको मौलिक पुनर्निर्माण तथा सौन्दर्यकरणले यस क्षेत्रलाई पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुगेको स्थानीय राम स्वगारथ रायले बताउनुभयो ।

      पालिकाले आन्तरिक आयको उद्देश्य राखेर माछापालनका लागि पोखरी ठेक्का लगाएको छ । जसले गर्दा तालमा मोटरबोट सञ्चालन हुन नसकेको बोट व्यवस्थापक कर्मचारी धनिराम सहनीले बताउनुभयो । मोटरबोट सञ्चालन गर्दा माछा मरेको भन्दै सम्झौताबमोजिम तालमा बोट चलाउन ठेकेदारले रोक लगाएको छ ।

      तालमा मरेका माछा तथा अन्य फोहोरका कारण दुर्गन्धित हुँदा समस्या भएको पर्यटकहरूको गुनासो छ । स्थानीय बिनिता महतोले माछा मरेको दुर्गन्धका कारण तालको छेउमा उभिन पनि सकस भएको बताउनुभयो । यसतर्फ पालिकाले बेलैमा ध्यान नदिए विगतमा जस्तै तालमा आउने पर्यटक घट्दै जाने जोखिम रहेको उहाँको आशङ्का थियो ।

       पात्रो/राशिफल  रेडियो YouTube