२०८२ फाल्गुन ६ | Feb 18, 2026

सर्लाहीमा आमाको नामबाट नागरिकता, गुप्ताको दशकौँको प्रतीक्षा अन्त्य

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २०
|
714 views

ललितपुर — सर्लाही जिल्लामा पहिलोपटक आमाको नामबाट नागरिकता जारी भएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले लालबन्दी नगरपालिका–७ निवासी राम मनोहर गुप्तालाई आमाको नाममा अङ्गीकृत नेपाली नागरिकता प्रदान गरेको हो ।

नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नागरिकता नियमावली, २०६३ को चौथो संशोधन कार्यान्वयनपछि बाबु विदेशी र आमा नेपाली भएका सन्तानलाई आमाको नामबाट नागरिकता दिने व्यवस्था कार्यान्वयनमा आएको हो । सोही कानुनी प्रावधानअनुसार गुप्तालाई नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी रामुराज कँडरियाले जानकारी दिनुभयो ।

संशोधन ऐन कार्यान्वयनमा आएपछि जिल्ला प्रशासन कार्यालयले सोमबार पहिलोपटक आमाको नामबाट नागरिकता जारी गरेको उहाँले बताउनुभयो । यसले बुबाको पहिचान नभएका वा विदेशी बाबु र नेपाली आमाबाट जन्मिएका सन्तानका लागि नागरिकता पाउने ढोका खुलेको छ, प्रजिअ कँडरियाले भन्नुभयो ।

उहाँका अनुसार संशोधन ऐन जारी भएपछि दुई हप्ता अगाडिदेखि नै जिल्लाका २० वटै पालिकामा परिपत्र गरिएको थियो । सोही प्रक्रियाअनुसार आवश्यक कागजात र प्रमाण पूरा भएपछि नागरिकता प्रदान गरिएको हो । यसबाट जिल्लामा लामो समयदेखि नागरिकताविहीन रहेका धेरै नेपाली सन्तानको समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

नागरिकता नहुँदा शिक्षा र सीप हुँदाहुँदै पनि रोजगारी गर्न नसक्ने, बैंक खाता खोल्न नपाउने, सिमकार्डसमेत आफ्नै नाममा प्रयोग गर्न नपाउने समस्याबाट अब मुक्ति मिल्ने विश्वास जिल्ला प्रशासनको छ ।

नागरिकता प्राप्त गरेपछि प्रतिक्रिया दिँदै गुप्ताले नेपाली नागरिकको हैसियत पाउन गरेको संघर्ष पीडादायी रहेको बताउनुभयो। आजदेखि म आधिकारिक रूपमा नेपाली नागरिक बनेको छु, उहाँले भन्नुभयो, नेपाली आमाबाट नेपालमै जन्मिएको सन्तानले आफूलाई नेपाली साबित गर्नुपरेको यात्रा निकै कठिन र चुनौतीपूर्ण थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया