२०८२ फाल्गुन ६ | Feb 18, 2026

नागरिक लगानी कोषको नाफा झन्डै ७ प्रतिशत बढ्यो

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ २५
|
612 views

ललितपुर –  नागरिक लगानी कोष (सीआईटी)ले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक अवधिमा नाफामा सुधार गरेको छब। कोषले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यस अवधिमा खुद नाफा करिब ६.९ प्रतिशतले बढ्दै ६६ करोड ५३ लाख रुपैयाँ नाघेको छ ।

अघिल्लो वर्षको यही अवधिमा कोषले करिब ६२ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। चालु त्रैमासमा सेवा शुल्क तथा कमिसन आम्दानी बढेसँगै कुल आम्दानीमा पनि सुधार देखिएको हो ।


कोषका अनुसार दोस्रो त्रैमासमा ब्याजबाट १७ करोड ३६ लाख रुपैयाँ आम्दानी भएको छ भने सेवा शुल्क तथा कमिसनबाट ८३ करोड ९४ लाख रुपैयाँ भित्रिएको छ । यसबाहेक विविध शीर्षकबाट ५ करोड ६२ लाख रुपैयाँ आम्दानी भएको छ । गत वर्षको तुलनामा सेवा शुल्क र विविध आम्दानी बढे पनि ब्याज आम्दानी भने केही घटेको देखिन्छ ।


समीक्षा अवधिमा कोषको कुल आम्दानी १ अर्ब ६ करोड रुपैयाँभन्दा बढी पुगेको छ भने कुल खर्च १८ करोड १८ लाख रुपैयाँमा सीमित रहेको छ । खर्चतर्फ व्यवस्थापन र सञ्चालन व्यवस्थामा सबैभन्दा बढी रकम खर्च भएको विवरणमा उल्लेख छ ।


पुस मसान्तसम्ममा नागरिक लगानी कोषको चुक्ता पुँजी ६ अर्ब ८० करोड रुपैयाँ नाघेको छ भने खुद कोष मौज्दात २ खर्ब ९४ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा कोषको पुँजी तथा कोष मौज्दात दुवै उल्लेखनीय रूपमा बढेका छन् ।


यस अवधिमा कोषको कुल लगानी २ खर्ब ९८ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । कोषले सरकारी ऋणपत्र, बैंकको मुद्दती निक्षेप, समयकालीन कर्जा, आवास कर्जा तथा सहभागी सापटीसँगै संगठित संस्थाको सेयरमा साढे ३१ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको जनाएको छ ।


वित्तीय सूचकका आधारमा कोषको रिटर्न अन इन्भेष्टमेन्ट ४.४९ प्रतिशत रहेको छ भने फण्ड इन्भेष्टमेन्ट रेसियो करिब ९९.८ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ५५ पैसा र प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ ४० पैसा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया