ललितपुर - ललितपुर – चितवनका दुई दाजुभाइले आमाको नामबाट पहिलो पटक नागरिकता पाएका छन् । खैरहनी नगरपालिका–५ का निश्चल चौधरी (२४) र शङ्कर चौधरी (२०) यस ऐतिहासिक क्षणका पात्र बनेका छन् ।
दाजुभाइले आफ्नो आमा निशा महतो (चौधरी) को नामबाट नागरिकता प्राप्त गरेका हुन्। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नागरिकता प्रदान गर्दै भन्नुभयो, “महतो आँखा नदेख्ने भएकाले कर्मचारीको सक्रियतामा नागरिकता प्रक्रिया सम्पन्न भएको हो ।
नागरिकता ऐन र नियमावलीमा भएको पछिल्लो संशोधनपछि जिल्लामा पहिलो पटक आमाको नाममा नागरिकता प्रदान गरिएको हो । बाबुको सम्पर्क नभएकाले आमाले पालनपोषण गर्दै आएका छोराछोरीलाई नागरिकता दिन पाउँदा अधिकारी र कर्मचारी टोली दुवै हर्षित भएको उल्लेख गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी अर्यालले नागरिकता वितरण गर्दै युवाहरुलाई सल्लाह दिनुभयो, “आमाको ख्याल गर्नु र आफ्नो लक्ष्यबाट पछि नहट्नु ।
नागरिकता प्राप्त गरेपछि दाजुभाइले आफू पनि नेपाली नागरिक बनेकोमा खुसी व्यक्त गर्दै यसलाई आफ्ना लागि महत्वपूर्ण क्षण भएको बताउनुभयो ।

बिजनेस पाटी