२०८२ फाल्गुन ३ | Feb 15, 2026

१० वर्षको प्रतीक्षापछि आमाको नाममा नागरिकता

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ८
|
1.4k views

ललितपुर – बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले झण्डै एक दशकपछि आमाको नामबाट नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालयले मङ्गलबार आमा मनिरजा बेगमका नामबाट उनीहरूलाई नागरिकता प्रदान गरेको हो ।

प्रशासनका अनुसार नागरिकता ऐन, २०६३ र त्यसको चौथो संशोधन नियमावली कार्यान्वयनमा आएपछि समिर र यास्मिनको नागरिकता प्रक्रिया टुंगो लागेको हो । समिरले ११ वर्षअघि र यास्मिनले आठ वर्षअघि सबै आवश्यक कागजातसहित आवेदन दिएका थिए ।

नागरिकता नहुँदा उच्च शिक्षा हासिल गरे पनि रोजगारी, व्यवसाय र वैदेशिक रोजगारीमा जान समस्या भोग्नुपरेको उनीहरूको भनाइ छ । नागरिकता पाएसँगै अब आफ्ना अधिकार प्रयोग गर्न पाउँदा आफूहरूलाई पूर्ण नागरिक भएको अनुभूति भएको समिर र यास्मिनले बताएका छन् ।

समीर र यास्मिनको साबिक अर्थुङ्गे गाविसमा जन्मदर्ता छ । दुवैले उच्च शिक्षा हासिल गरे पनि नागरिकता नपाएका कारण पेसा, व्यवसाय गर्न र जागिर खान तथा वैदेशिक रोजगारीमा जानबाट वञ्चित हुनुपरेको थियो । नागरिकता प्राप्त भएपछि बल्ल नागरिक भएको महसुस गरेको समीर र यास्मिनको प्रतिक्रिया छ । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ राजपत्रमा प्रकाशन गरेसँगै नागरिकता ऐन २०६३ को व्यवस्था कार्यान्वयनमा आएको हो । यसअघि पुस २९ गते मालिका गाउँपालिका–५ देविस्थानकी २२ वर्षीया सीमा पुनलाई जिल्लामै पहिलोपटक आमाका नामबाट नागरिकता प्रदान गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया