नेशनल लाइफको चारदिने कर्मचारी सीप अभिवृद्धि कार्यक्रम सम्पन्न

BusinessPati बिजनेस पाटी
|
२०८३ आश्विन १३
|
204 views

ललितपुर - नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीको क्षमता, कार्यदक्षता तथा व्यावसायिक सीप अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको चारदिने ‘इम्प्लोई स्कील इन्हान्समेन्ट वर्कसप’ सम्पन्न भएको छ ।

नेपालगञ्जस्थित होटल सिद्धार्थमा आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहको सभापतित्वमा प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन टोली, विभागीय प्रमुख तथा प्रशासनिक कर्मचारीसहित ३०० भन्दा बढीको सहभागिता रहेको थियो ।

    कार्यक्रम उद्घाटन गर्दै अध्यक्ष सिंहले बदलिँदो परिवेशअनुसार कर्मचारीलाई प्राविधिक रूपमा सक्षम बनाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायत डिजिटल कनेक्टिभिटीसम्बन्धी तालिमलाई प्राथमिकता दिने बताइन् । कर्मचारीको क्षमता अभिवृद्धिमा कम्पनीले आवश्यक लगानी गर्ने र दक्ष कर्मचारीले कम्पनीको व्यवसाय प्रवद्र्धनमा सकारात्मक योगदान पुर्‍याउने उनको भनाइ थियो ।

    सो अवसरमा कार्यसम्पादनका आधारमा ‘बेस्ट इम्प्लोई अवार्ड–२०८३’ का लागि छनोट भएका शिवेश ठाकुर (इटहरी), गीता कुमारी थिङ (बर्दिबास), रुक्मणी कुमारी शर्मा (काठमाडौं), अनिल श्रेष्ठ (विरौटा), सुवासमणि पोखरेल (नेपालगञ्ज), प्रमिला मल्ल (नेपालगञ्ज) र विष्णुजंग शाही (जाजरकोट) लाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

      कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले सहभागीलाई स्वागत गर्दै ग्राहक नै व्यवसायको मुख्य स्रोत भएकाले सरल, छिटो र सम्मानजनक सेवा प्रदान गर्नुपर्ने बताए । संस्थाका नीति तथा नियमको पालना, कामप्रतिको जवाफदेहिता र समस्या समाधानमा जिम्मेवार प्रयासले ग्राहकको विश्वास अझ बलियो बनाउने उनको भनाइ थियो ।

      कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछानेले बीमालाई माध्यम बनाएर विभिन्न बहानामा सम्पत्ति शुद्धीकरण हुनसक्ने भएकाले यसतर्फ सचेत रहनुपर्ने विषयमा प्रशिक्षण दिएका थिए । प्रशिक्षक विश्वराज पौडेलले एआईको प्रयोगसम्बन्धी प्रयोगात्मक प्रशिक्षण दिएका थिए भने प्रशिक्षक संजोग कोइरालाले कर्मचारीको व्यवहार तथा आचरणले संस्थाको पहिचान निर्माणमा खेल्ने भूमिकाबारे प्रशिक्षण दिएका थिए ।

      कार्यक्रममा कर्मचारीको सिर्जनात्मकता, नेतृत्व क्षमता, सहकार्य र कार्यसम्पादन अभिवृद्धिका लागि विभिन्न अतिरिक्त क्रियाकलापसमेत सञ्चालन गरिएको थियो । सातै प्रदेशबाट सहभागी कर्मचारीले दैनिक कार्यसम्पादनसँग सम्बन्धित विषयमा नाटक प्रस्तुत गरेका थिए । विभागीय प्रमुखहरूसँग प्यानल डिस्कसन तथा कर्मचारीबीच परीक्षा पनि सञ्चालन गरिएको थियो ।

      त्यस्तै, अन्तरकर्मचारी फुटसल, टेबल टेनिस र टग अफ वारलगायत खेलकुद प्रतियोगिता सञ्चालन गरिएको थियो । विजयी टोली तथा खेलाडीलाई पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो । कार्यक्रमको अन्तिम दिन कर्मचारीलाई रिफ्रेसमेन्टका लागि कर्णाली चिसापानी भ्रमणसमेत गराइएको थियो ।

      कम्पनीका अनुसार चारदिने कार्यक्रमले कर्मचारीको प्राविधिक ज्ञान, व्यावसायिक दक्षता, नेतृत्व क्षमता, व्यवहार तथा संस्थागत कार्यसंस्कृतिको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube