जैविक विविधता संरक्षण : नेपाल–भारत समझदारीपत्रमा हस्ताक्षर

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन १४
|
663 views

ललितपुर - ललितपुर – नेपाल र भारत सरकारबीच जैविक विविधता संरक्षणसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपालका वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाई तथा भारतका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भुपेन्द्र यादवको समुपस्थितिमा सो समझदारी पत्रमा बुधबार नयाँदिल्लीमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा नेपालको तर्फबाट भारतका लागि नेपाली राजदुत डा. शंकरप्रसाद शर्मा र भारतका तर्फबाट वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयका सचिव तन्मय कुमारले हस्ताक्षर गर्नुभएको थियो । उक्त अवसरमा दुवै देशका उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको वन तथा वातावरण मन्त्रालय का प्रवक्ता डा महेश्वर ढकालले जानकारी दिनुभयो ।

नेपाल र भारत संयुक्त राष्ट्र सङ्घअन्तर्गत जैविक विविधतासहित विभिन्न वातावरण संरक्षणसम्बन्धी अन्तरराष्ट्रिय महासन्धिको पक्षराष्ट्र हुन् । दुवै देशको सीमा जोडिएको क्षेत्रमा संरक्षित क्षेत्र र जैविक मार्ग रहेका तथा ती क्षेत्रमा हात्ती, गैंडा र बाघलगायत वन्यजन्तुले स्वतन्त्र रूपमा आवतजावत गर्ने गर्छन् ।

दुवै देशले संरक्षित क्षेत्र, जैविक विविधता र वन्यजन्तु अपराध नियन्त्रणमा सहकार्य गर्ने, साझा रणनीति अवलम्बन गर्ने र कर्मचारीको क्षमता विकास गर्ने समझदारीपत्रको उद्देश्य हो । यसले सीमा वारपार क्षेत्रमा हुने चोरी शिकार तथा अवैध व्यापार नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

वन्यजन्तु अध्ययन, अनुसन्धान, अनुगमन तथा स्थानीयस्तरमा जनचेतना विकासमा समझदारीपत्रले भूमिका खेल्नेछ । सीमा क्षेत्रमा नियमित गस्ती, सूचना आदानप्रदान र अनुभव साटासाटले जैविक विविधता संरक्षणमा योगदान पुग्ने विश्वास गरिएको छ ।

वन्यजन्तु अपराधसम्बन्धी सूचना आदानप्रदानका लागि दुवै देशले दक्षिण एसिया वन्यजन्तु कानुन कार्यान्वयन सञ्जाल सँग समन्वय गर्न सक्ने व्यवस्था गरिएको छ । समझदारीपत्र पाँच वर्षमा स्वतः नवीकरण हुने र तीन वर्षमा पुनरावलोकन गरिने व्यवस्था छ।

सम्झौता कार्यान्वयनमा समस्या आएमा आपसी समझदारीमा समाधान गरिने प्रावधान रहेको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube