
ललितपुर - नेपाल टेलिकमले एनटी फाइबरमार्फत उपलब्ध गराउँदै आएको एनटीटीभी सेवा अब सेट–टप बक्सबिना नै प्रयोग गर्न सकिने व्यवस्था गरेको छ ।
कम्पनीले असोज १५ गतेदेखि एन्ड्रोइडमा आधारित स्मार्ट टीभीका लागि भर्चुअल सेट–टप बक्स सञ्चालनमा ल्याएको हो । ग्राहकले आफ्नो एन्ड्रोइड स्मार्ट टीभीमा गुगल प्लेस्टोरबाट ‘Smart NTTV’ एप खोजी गरी इन्स्टल गरेर एनटीटीभी सेवा प्रयोग गर्न सक्नेछन् ।
नेपाल टेलिकमका अनुसार निकट भविष्यमा अन्य स्मार्ट टीभीमा समेत प्रयोग गर्न मिल्ने गरी भर्चुअल सेट–टप बक्स विस्तार गर्ने तयारी भइरहेको छ ।
नयाँ प्याकेज खरिद गर्दा भर्चुअल सेट–टप बक्ससहितको प्याकेज लिने ग्राहकलाई १ हजार छुट उपलब्ध गराउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
एनटी फाइबरमार्फत नेपाल टेलिकमले एउटै फाइबरबाट टेलिफोन, उच्च गतिको इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउँदै आएको छ । कम्पनीले एनटीटीभीका विभिन्न प्याकेजसमेत उपलब्ध गराएको छ । वार्षिक तथा दुई वर्षे प्याकेजमा मोबाइल डाटाको सुविधासमेत समावेश गरिएको छ ।

बिजनेस पाटी



