ललितपुर - नेपाल लाइफ इन्स्योरेन्सद्वारा २५औँ वार्षिकोत्सवमा व्यतीत बीमालेख पुनर्जागरणका लागि विलम्ब शुल्कमा १००% छुट योजना
देशकै अग्रणी जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा व्यतीत भएका बीमालेखहरूको पुनर्जागरणलाई प्रोत्साहन गर्न विशेष योजना सार्वजनिक गरेको छ ।
कम्पनीले आर्थिक कठिनाइका कारण व्यतीत भएका बीमालेखहरूलाई पुनः सक्रिय गर्दै बीमितहरूको आर्थिक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यसहित ‘विशेष बीमा पुनर्जागरण योजना २०८२/०८३’ लागू गरेको हो । उक्त योजना अन्तर्गत २०८३ साल वैशाख ७ गतेदेखि जेठ ५ गतेसम्म (३० दिन) व्यतीत बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा १०० प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।
कम्पनीका अनुसार हाल धेरै बीमालेखहरू नवीकरण नहुँदा व्यतीत अवस्थामा रहेका छन् । यस्तो अवस्थामा बीमितहरूलाई सहज रूपमा नवीकरण गर्न प्रोत्साहित गर्ने उद्देश्यले यो विशेष सुविधा ल्याइएको हो ।
रजत जयन्तीको अवसरमा पहिलो पटक यति ठूलो छुट योजना ल्याइएको भन्दै कम्पनीले यसलाई बीमितमैत्री कदमका रूपमा लिएको छ । कम्पनीले सबै बीमितहरूलाई यस अवसरको अधिकतम उपयोग गर्दै आफ्नो बीमालेख सक्रिय राख्न आग्रह गरेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले भनेका छन्, ‘ग्राहकको विश्वास हाम्रो प्रमुख प्राथमिकता हो । विभिन्न कारणले व्यतीत भएका बीमालेखहरूलाई पुनः बीमा सुरक्षामा ल्याउने उद्देश्यले यो योजना ल्याइएको हो । सबै बीमितहरूलाई यस अवसरको लाभ लिन आग्रह गर्दछौं ।’
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले विगत २५ वर्षदेखि देशभरका लाखौं परिवारलाई बीमा सेवा प्रदान गर्दै आएको छ । कम्पनीको करिब ३० प्रतिशत बजार हिस्सा रहेको छ भने देशका ७७ वटै जिल्लामा शाखा विस्तार तथा ६९ हजारभन्दा बढी अभिकर्ताहरूको नेटवर्कमार्फत सेवा दिइरहेको छ ।

बिजनेस पाटी