दृष्टिविहीन बालबालिकाका लागि आवासीय भवन निर्माणमा नेपाल लाइफको आर्थिक सहयोग

BusinessPati बिजनेस पाटी
|
२०८३ श्रावण ४
|
255 views

ललितपुर - नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत दृष्टिविहीन बालबालिकाका लागि निर्माणाधीन आवासीय भवन सम्पन्न गर्न आर्थिक सहयोग प्रदान गरेको छ ।

कम्पनीले काठमाडौं राउण्ड टेबल–१ मार्फत त्रिनेत्र फाउन्डेसनद्वारा निर्माण भइरहेको आवासीय भवनका लागि सहयोग उपलब्ध गराएको हो ।

    नवनिर्मित भवन सञ्चालनमा आएपछि ६० जनासम्म दृष्टिविहीन बालबालिकाले सुरक्षित, सहज र स्नेहपूर्ण वातावरणमा बसोबास गर्न सक्नेछन् । भवनमा छात्रावास, कक्षाकोठा, सरसफाइका आवश्यक सुविधा, ब्रेल पुस्तकालय, संगीत कक्ष तथा अन्य आवासीय सुविधाहरू समावेश गरिएको छ ।

      हालसम्म त्रिनेत्र फाउन्डेसनले सीमित स्रोत–साधनका बीच भाडाको सानो घरबाट सेवा सञ्चालन गर्दै आएको थियो । नयाँ भवन सञ्चालनमा आएपछि दृष्टिविहीन बालबालिकालाई गुणस्तरीय आवास, शिक्षा तथा जीवनोपयोगी सीप प्रदान गर्ने संस्थाको क्षमता उल्लेखनीय रूपमा विस्तार हुने अपेक्षा गरिएको छ ।

      यस अवसरमा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनीले व्यावसायिक सफलतासँगै समाजमा सकारात्मक प्रभाव सिर्जना गर्नुलाई पनि सफलताको महत्वपूर्ण आधार मान्दै आएको बताए । त्रिनेत्र फाउन्डेसनमार्फत दृष्टिविहीन बालबालिकालाई सुरक्षित आवास, गुणस्तरीय शिक्षा तथा आत्मनिर्भर जीवनतर्फ अग्रसर गराउने अभियानमा सहकार्य गर्न पाउँदा कम्पनी गौरवान्वित भएको उनको भनाइ थियो ।

      नेपाल लाइफ इन्स्योरेन्सले जिम्मेवार व्यावसायिक अभ्यास तथा प्रभावकारी सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत जीवन बीमासँगै नेपालको सामाजिक तथा आर्थिक विकासमा निरन्तर योगदान पुर्‍याउँदै आएको जनाएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube