तीन दिनको लगातार वृद्धिपछि नेप्सेमा ठूलो गिरावट, ३९ अंकले घट्यो बजार

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख २९
|
51 views

ललितपुर - लगातार तीन कारोबार दिन बढेको सेयर बजार मंगलबार भने उच्च अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ३९.४४ अंक अर्थात् १.४१ प्रतिशतले घट्दै २७४४ अंकमा झरेको हो ।

अघिल्लो कारोबार दिन मात्रै नेप्से ३८.१९ अंकले बढेको थियो। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि लगानीकर्तामा केही उत्साह देखिए पनि त्यसले दीर्घकालीन विश्वास सिर्जना गर्न नसकेको विश्लेषण गरिएको छ ।

    नीति तथा कार्यक्रममा पूँजी बजार सुधारका विषय समेटिए पनि ती अधिकांश पुरानै प्रतिबद्धताको पुनरावृत्ति मात्रै भएको भन्दै लगानीकर्ता सतर्क बनेका हुन् । गैरआवासीय नेपालीलाई बजारमा सहभागी गराउने, नेप्सेको पुनर्संरचना तथा बन्ड बजार विस्तारजस्ता विषय यसअघि पनि पटक–पटक घोषणा भए पनि प्रभावकारी कार्यान्वयन हुन नसकेको गुनासो छ ।

    बजार घटे पनि कारोबार रकम भने सामान्य बढेको छ । अघिल्लो दिन ४ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ४ अर्ब ६६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

      आज कारोबार भएका कम्पनीमध्ये केवल १३ कम्पनीको सेयर मूल्य बढ्दा २५१ कम्पनीको मूल्य घटेको छ भने ५ कम्पनी स्थिर रहे ।

      क्षेत्रगत रूपमा पनि अधिकांश सूचक ओरालो लागेका छन्। व्यापार समूह २.३३ प्रतिशत, हाइड्रोपावर २.२२ प्रतिशत, फाइनान्स २.०३ प्रतिशत र होटल तथा पर्यटन समूह २.०२ प्रतिशतले घटेका छन् ।

      व्यक्तिगत कम्पनीतर्फ धौलागिरि लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ । यता फर्स्ट माइक्रोफाइनान्स १२.४० प्रतिशतले घट्दै सबैभन्दा बढी गुमाउने कम्पनी बनेको छ ।

      कारोबार रकमका आधारमा नेसनल हाइड्रोपावर, रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर, शिवम् सिमेन्ट र एसवाई प्यानल अगाडि रहेका छन् ।

       पात्रो/राशिफल  रेडियो YouTube