ललितपुर – नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार कम्पनीको व्यवसायिक विस्तारसँगै नाफा, बीमाशुल्क तथा जीवन बीमा कोषमा उल्लेख्य सुधार देखिएको छ ।
साउनदेखि पुस मसान्तसम्मको अवधिमा कम्पनीले २८ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा २७ करोड ९१ लाख रुपैयाँ रहेको थियो। यसरी समीक्षा अवधिमा कम्पनीको नाफा करिब २.८ प्रतिशतले बढेको देखिन्छ ।
इक्विटी संरचनातर्फ हेर्दा, कम्पनीको शेयर प्रिमियम २ करोड ७८ लाख रुपैयाँमा स्थिर छ भने महाविपत्ति कोष बढेर ७३ करोड ७१ लाख रुपैयाँ पुगेको छ। रिटेन्ड अर्निङ ४० करोड ७९ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटी ४० करोड रुपैयाँ कायम भएको छ ।
चालु वर्षको पुससम्म नेसनल लाइफको जीवन बीमा कोष ९७ अर्ब ५६ करोड रुपैयाँ नाघेको छ। अघिल्लो वर्ष यही अवधिमा बीमा कोष ७७ अर्ब ९५ करोड रुपैयाँ थियो । एक वर्षको अवधिमा कम्पनीको बीमा कोष करिब २५ प्रतिशतले बढेको हो ।
बीमाशुल्क संकलनमा पनि कम्पनीले राम्रो प्रगति गरेको छ । समीक्षा अवधिमा कम्पनीले ११ अर्ब रुपैयाँभन्दा बढी कुल बीमाशुल्क संकलन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १४ प्रतिशतभन्दा बढी वृद्धि हो । खुद बीमाशुल्क आर्जन पनि १० अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।
५ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी १० रुपैयाँ २८ पैसामा सीमित भएको छ । अघिल्लो वर्षको तुलनामा ईपीएस केही घटे पनि कम्पनीको प्रतिशेयर नेटवर्थ १२७ रुपैयाँ ६४ पैसा पुगेको छ । हाल कम्पनीको पीई रेसियो ५६ गुणाभन्दा माथि रहेको छ ।


















फेसबुकबाट तपाईको प्रतिक्रिया