
ललितपुर -
एन आई सी एशिया बैंक लिमिटेडले २ः१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने तयारीस्वरूप एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
यस सम्बन्धमा बैंक र एनआइएमबि एस क्यापिटलबीच सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख वित्तीय अधिकृत रुपेश लुइटेल र एनआइएमबि एस क्यापिटलका नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।
नेपाल राष्ट्र बैंकबाट प्राप्त स्वीकृतिअनुसार बैंकले हाल कायम चुक्ता पूँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार ९२२ रुपैयाँका आधारमा विद्यमान दुई कित्ता साधारण शेयर बराबर एक कित्ता (२ः१) को अनुपातमा हकप्रद शेयर जारी गर्ने भएको हो ।
यसअनुसार बैंकले ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद साधारण शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्कासन गर्नेछ । हकप्रद शेयरको कुल निष्कासन रकम ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ बराबर हुनेछ ।
बैंकका अनुसार हकप्रद शेयर निष्कासनका लागि आवश्यक अन्य नियामकीय स्वीकृति तथा प्रक्रिया पूरा भएपछि निष्कासन कार्य अघि बढाइनेछ ।
हकप्रदबाट संकलित रकम बैंकको पूँजी संरचना सुदृढ बनाउन, पूँजी पर्याप्तता अनुपात थप मजबुत बनाउन तथा दीर्घकालीन व्यावसायिक विस्तार र रणनीतिक योजनाहरू कार्यान्वयन गर्न उपयोग गरिने बैंकले जनाएको छ ।

बिजनेस पाटी