स्वास्थ्य बीमा बोर्डले डिजिटल प्रणाली विस्तार गर्ने उद्देश्यसहित राष्ट्रिय परिचयपत्र (एनआईडी) प्रणालीसँग सहकार्य सुरु गरेको छ । यस अन्तर्गत स्वास्थ्य बीमालाई एनआईडी नम्बरमा आधारित बनाउने तयारी भइरहेको छ ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग भएको समझदारी–पत्रमा हस्ताक्षर राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरे र स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. कृष्ण प्रसाद पौडेलले गरेका छन् ।
सहकार्यपछि स्वास्थ्य बीमाको दर्ता तथा नवीकरण प्रक्रिया क्रमशः अनलाइनमार्फत सञ्चालन हुने तयारी भइरहेको स्वास्थ्य बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लले बताएका छन् । नयाँ प्रणाली अन्तर्गत चैत २५ भित्र नयाँ दर्ता अनलाइनमार्फत सुरु गर्ने लक्ष्य राखिएको छ ।
यस प्रणालीमा स्वास्थ्य बीमाको छुट्टै कार्डको सट्टा एनआईडी नम्बरकै आधारमा सेवा दिइनेछ। एनआईडी प्रणालीसँग जोडिएपछि:
- डाटा प्रमाणीकरण सहज हुनेछ
- दोहोरो दर्ता कम हुनेछ
- कार्डको दुरुपयोग घट्नेछ
हाल देशभर करिब एक करोड नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भइसकेका छन्, तर म्यानुअल प्रणालीका कारण दोहोरो दर्ता, विवरण मिल्दैन वा गलत प्रयोग हुने समस्या देखिएको थियो ।
डिजिटल प्रणाली विस्तारसँगै नागरिकले स्वयं अनलाइनमार्फत दर्ता वा नवीकरण गर्न सक्नेछन्। भविष्यमा बायोमेट्रिक प्रमाणीकरणसमेत लागू गर्ने योजना छ ।
नयाँ व्यवस्थाले स्वास्थ्य बीमाको दर्ता र नवीकरण प्रक्रियामा झन्झट हटाउने र सेवाग्राहीले छिटो सेवा प्राप्त गर्ने सुविधा सुनिश्चित गर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया