२०८२ फाल्गुन ६ | Feb 18, 2026

स्वतन्त्र उम्मेदवार डा. निकोलस भुसालका महत्वाकांक्षी एजेण्डा

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ५
|
255 views

ललितपुर –  स्वतन्त्र उम्मेदवार डा. निकोलस भुसालले देश निर्माणका लागि आफ्नो भिजन तथा योजनाहरू सार्वजनिक गरेका छन् । सार्वजनिक एजेन्डामा उनले सुशासन, स्वास्थ्य, शिक्षा र प्रशासनिक सुधारलाई प्राथमिकतामा राखेका छन् ।

डा. भुसालले गाँजालाई औषधीय तथा औद्योगिक प्रयोजनका लागि वैधानिक बनाउने प्रस्ताव अघि सारेका छन्। यसबाट रोजगारी सिर्जना र राजस्व वृद्धि हुने उनको दाबी छ ।

त्यस्तै, सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने योजना उनले सार्वजनिक गरेका छन् । स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न राज्यको दायित्व बढाउनुपर्नेमा उनले जोड दिएका छन् ।

राजनीतिक संरचनामा सुधारको प्रस्ताव राख्दै उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था लागू गर्नुपर्ने बताएका छन् । साथै, प्रदेश सरकार र राष्ट्रिय सभा खारेज गर्नुपर्ने धारणा पनि सार्वजनिक गरेका छन् ।

सुशासन प्रवर्द्धनका लागि उच्च पदस्थ व्यक्तिहरूको अवैध सम्पत्ति छानबिन गरी जफत गर्ने तथा सरकारी सेवाहरूलाई पूर्णरूपमा डिजिटल बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।

यसैगरी, विद्यालयदेखि विश्वविद्यालयसम्मको शिक्षा पूर्ण रूपमा निःशुल्क बनाउने र विभिन्न आन्दोलनसँग सम्बन्धित घटनाहरूको निष्पक्ष छानबिन गरी न्याय सुनिश्चित गर्ने एजेन्डा पनि उनले अघि सारेका छन् ।

डा. भुसालले आफ्ना योजनाहरू कार्यान्वयनका लागि जनसमर्थन आवश्यक रहेको उल्लेख गर्दै परिवर्तनका लागि स्वतन्त्र उम्मेदवारलाई अवसर दिन आग्रह गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया