इन्भेष्टमेन्ट मेगा बैंकले देशका विभिन्न जिल्लामा १० शाखा समायोजन गर्ने

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ ५
|
1.1k views

ललितपुर -

ललितपुर । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले सञ्चालन खर्च घटाउने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा शाखा सञ्जाललाई व्यवस्थित गर्ने उद्देश्यसहित देशका विभिन्न जिल्लामा रहेका १० वटा शाखा समायोजन गर्ने निर्णय गरेको छ। बैंकको व्यवस्थापन समितिको निर्णयअनुसार नजिक–नजिक रहेका शाखाहरूलाई एकीकृत गर्दै सेवा केन्द्रित संरचनामा जान लागिएको हो।
बैंकका अनुसार शाखा समायोजन गरिए पनि ग्राहकलाई दिइँदै आएका सबै सेवा निरन्तर रहनेछन्। समायोजनपछि सम्बन्धित क्षेत्रका ग्राहकहरूले नजिकैको अर्को शाखाबाट नियमित बैंकिङ सेवा लिन सक्ने व्यवस्था मिलाइएको बैंकले जनाएको छ। यस प्रक्रियाबाट डिजिटल बैंकिङ सेवाको प्रयोगलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ। समायोजनमा परेका शाखाहरू काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा रहेका छन्। बैंकले शाखा गाभिँदा कर्मचारी व्यवस्थापनमा समेत कुनै समस्या नआउने र आवश्यक परे कर्मचारीलाई अन्य शाखा तथा विभागमा समायोजन गरिने स्पष्ट पारेको छ।


बैंकिङ क्षेत्रमा प्रतिस्पर्धा बढ्दै गएको, डिजिटल कारोबारको प्रयोग तीव्र रूपमा विस्तार भइरहेको र सञ्चालन खर्च नियन्त्रण गर्नुपर्ने अवस्थाका कारण पछिल्ला दिनहरूमा बैंक तथा वित्तीय संस्थाहरूले शाखा पुनर्संरचना गर्ने क्रम बढ्दो छ। इन्भेष्टमेन्ट मेगा बैंकको यो कदम पनि सोही रणनीतिक व्यवस्थापनको हिस्सा भएको विश्लेषण गरिएको छ। बैंकले आगामी दिनमा ग्राहक सेवा अझ सहज, छरितो र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ संरचनागत सुधारका अन्य कदमहरू पनि अघि बढाउने जनाएको छ।

 पात्रो/राशिफल  रेडियो YouTube