ललितपुर - ललितपुर – फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाखसम्म जरिवाना, वा तीन वर्षसम्म कैद, वा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था रहेको निर्वाचन आयोगले जनाएको छ ।
सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट बञ्चित गर्ने उद्देश्यले वाधा अवरोध पुर्याउने, पुर्याउन लगाउने, थुनछेक गर्ने वा गराउने कार्य गरेमा कडा सजाय हुने प्रावधान छ ।
निर्वाचन आयोगका अनुसार, प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल वा उम्मेदवारको चुनावी प्रचारप्रसारलाई विभिन्न माध्यमबाट अनुगमन गरिँदै आएको छ । कुनै दल वा उम्मेदवारको प्रचारप्रसारमा अन्य दल, कार्यकर्ता वा व्यक्तिबाट अवरोध सिर्जना भएको गुनासो र उजुरी प्राप्त भएको आयोगले जनाएको छ । सञ्चारमाध्यमबाट समेत यस्ता घटनाबारे जानकारी आएको भन्दै आयोगले गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
राजनीतिक दल, उम्मेदवार वा दलका भातृ सङ्गठनले पालना गर्नुपर्ने आचरण सम्बन्धमा निर्वाचन आचारसंहिता जारी भइसकेको छ । आचारसंहिताअनुसार कुनै दल वा उम्मेदवारले आयोजना गरेको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा अन्य कार्यक्रम बिथोल्न वा अवरोध गर्न नपाइने स्पष्ट व्यवस्था गरिएको छ ।
निर्वाचन (कसुर तथा सजाय) ऐनअनुसार, निर्वाचनको सिलसिलामा कसैलाई उम्मेदवारी दिन, प्रचारप्रसार गर्न वा मतदान गर्नबाट बञ्चित गर्ने उद्देश्यले अवरोध गर्न नपाइने कानुनी प्रावधान छ ।
आसन्न निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष तथा भयमुक्त वातावरणमा सम्पन्न गराउने दायित्व राजनीतिक दल, उम्मेदवार, आम नागरिक तथा सबै सरोकारवालाको भएको आयोगको ठहर छ । आयोगले प्रचारप्रसारमा वाधा अवरोध नगर्न र कानुनको पूर्ण पालना गर्न सबैलाई अनुरोध गरेको छ ।

बिजनेस पाटी